काठमाडौं – ‘यो नेपाली शीर उचाली, संसारमा लम्किन्छ’, ‘रातो र चन्द्र सुर्य जङ्गी निशानी हाम्रो’, ‘जसो गर जे गर जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’ । राष्ट्र भावले ओतप्रोत यी गीतका शब्दहरु यतिबेला केवल गीतमा मात्र सिमित बन्दै गएका छन् । राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी, दलहरुमा देखिएको भ्रष्ट मनोबृत्तीलगायत समस्याका कारण नेपाली युवाहरु धमाधम विदेशीन बाध्य छन् ।
भनिन्छ युवा देशको मेरुदण्ड हुन् । कुनै पनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । एउटा युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । एक युवा आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउँछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउँछ त्यो हो विदेश पलायन ।
विडम्बना भन्नु पछि यतिबेला नेपालमा गाउँ रित्तिदै छन्, शहर रित्तिदै छन् । खेतबारी बाँझिदै गएका छन् । गाई–भैंसीका गोठ र बाख्राका खोरहरु रित्तिदै गएका छन् । १६ वर्षअघिसम्म वार्षिक तीन हजार युवा काम खोज्दै बाहिरिने गर्थे । गत वर्ष आइपुग्दा यो संख्या तीन लाख पुुगेको छ । हाल खाडी तथा मध्यपूर्वी मुलुकमा मात्र कानूनी र गैरकानूनी हैसियतमा झन्डै ३२ लाख युवा श्रम गरिरहेका छन् । नेपालमा प्रत्येक वर्ष ४ लाख नयाँ श्रमशक्ति तयार हुन्छन् । तिनीहरु सबैजसोको रोजाइ वैदेशिक रोजगार बन्न थालेको छ ।
अध्यागमन बिभागका अनुसार सन् २०२३ मा ७० हजार नौ सय १५ जना युवाहरु विभिन्न देशका लागि बिदेशिएका छन् । दैनिक १५ देखि २५ सय युवा कुनै न कुनै रुपमा बाहिरिएका छन् । आइएलओका अनुसार वार्षिक ५ लाख भन्दा बढी युवा जिविकोपार्जन र कामको खोजीमा बिदेशिने गरेका छन् । वैदेशिक रोजगारमा १५ प्रतिशत दक्ष जनशक्ति र २५५ अर्धदक्ष जनशक्ति र ७४.५ प्रतिशत अदक्ष युवाहरु विदेशिएका छन् । प्राय युवाहरु विदेशमा सीप र क्षमता भन्दा श्रम पसिना बगाउन विबस भएको तितो यथार्थ हाम्रा सामु छ ।
हिजो देशको ब्यवस्था परिवर्तनका निम्ति लडेका परिवर्तनशील जागरुक हँसिला युवा अनुहार आज निन्याउरो अनुहार र धमिलो भविष्यलाई उज्ज्वल बनाउन विदेशी भूमीमा श्रम बेच्न बाध्य छन् । नेपाली युवालाइ साँच्चै राज्य संयन्त्र निकायबाट पछाडी पारिएको नै महसुस भएको छ । आज नेपाली युवा दिनप्रतिदिन विदेशिनुमा देशको खराब राजनीतिक नेतृत्व र अस्थिर राजनीति, प्रस्तिस्पर्धी युवालाई राजनीति दलको भर्ती केन्द्रमा भर्ती गरेर दास बनाइनुले पनि नेपाली युवाको नेतृत्व स्तर खस्किँदो अवस्थामा रहेको छ ।
युवा जनशक्ति किन विदेशी भूमीमा श्रम, सिप र पसिना बेच्न बाध्य छ त ? किन युवाहरु नेपालमा बस्न चाहदैनन् ? यो प्रश्न यतिबेला गम्भिर बनेको छ । युवा विदेशुनको कारण नेपालका लागि गहिरो छलफल र चिन्ताको विषय हो । यस लेखमा नेपालीहरुले नेपालमा बस्न नचाहनुका केही कारणहरुलाई केलाउने प्रयास गरिएको छ ।
रोजगारीको अभाव र आर्थिक समस्याहरुः
हामीसँग सीप छ, जाँगर छ, लगशीलता छ । यो तथ्य संसारका कुना–कुनामा पुगेर पनि नेपालीहरुले आफ्नो क्षमता प्रदर्शन प्रमाणीत गरिरहेका छन् । विदेशी भूमीमा आफ्नो ज्ञान, श्रम र सिप पोखेर नेपालीहरुले इमान्दारीको स्याबास्सी पनि पाइरहेका छन् । यतिमात्र होइन, विदेशबाट कामदारले पठाएको रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्र मजबुत बनाएको छ । तर, यही सक्षम जनशक्तिलाई नेपालमै प्रयोग गर्न सकिएको छैन ।
नेपालमा रोजगारीको अवसर सीमित छ । धेरै युवाहरुले आफूले गरेको मेहनत अनुसारको पारिश्रमीक पाउन सकेका छैनन् । सिकेको सिप समेत प्रयोगमा ल्याउने स्थान पाइरहेका छैनन् । नेपालका ग्रामीण भेगका मानिसहरु विशेष गरी खेतीपातीमा निर्भर छन् । तर आधुनिक कृषि प्रणालीको अभाव, जमिनको खण्डीकरण, र जलवायु परिवर्तनले खेतीपाती व्यवसायलाई पनि कठिन बनाइरहेको छ । यी विविध समस्याले आर्थिक स्थिरता नहुँदा धेरै नेपालीहरु विदेशमा रोजगारीको अवसर खोज्न बाध्य छन् ।
गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो । नेपाली युवा बेरोजगारीले आक्रान्त रहेको छ । नेपाली युवाहरूको शिक्षा, सीप र रोजगारीको वर्तमान अवस्था सन्तोषजनक छैन । जसले देशको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष असर पारेको छ ।
शिक्षा र स्वास्थ्यको गुणस्तरः
नेपालमा शिक्षा र स्वास्थ्य सेवा राम्रो नभएको कारण पनि धेरै मानिसहरु विदेश जाने चाहना राख्छन् । गुणस्तरीय शिक्षा पाउन विद्यार्थीहरुले विदेश जानु पर्ने अवस्था छ । साथै, गम्भीर स्वास्थ्य समस्याहरुमा उचित उपचारको अभावले मानिसहरूलाई असहाय बनाउँछ । यसले पनि नेपालीहरूलाई विदेशमा राम्रो सुविधा प्राप्त गर्न प्रेरित गरेको छ ।
नेपाली युवाहरूको भविष्य उज्यालो छ, तर तिनलाई सफल बनाउनका लागि सही नीतिहरू, रोजगारका अवसरहरू र युवा राजनीति नेतृत्व तहमा आशिन र शैक्षिक सुधारहरूको आवश्यकता छ । यदि यी चुनौतीहरूलाई सम्बोधन गर्न सकिन्छ भने नेपाली युवाहरूले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
राजनैतिक अस्थिरताः
राजनीतिक अस्थिरता, शासन व्यवस्थाको कमजोरी, र भ्रष्टाचारले देशको विकास प्रक्रिया ठप्प बनाएको छ । युवाहरुले आफ्नो भविष्यप्रति विश्वास गुमाउन थालेका छन् । मुलुकको शासन व्यवस्था प्रति असन्तोष र अस्थिर भविष्यले गर्दा धेरै नेपालीहरु विदेशमा स्थायीत्व खोज्न बाध्य छन् ।
कुनैपनि राष्ट्रका युवा बेरोजगारी गम्भीर समस्या हो तर, हाम्रो देशमा युवा बेरोजगारीलाई आफ्नो राजनीति कार्यकर्ता भर्ती र चुनावी सहजताको रुपमा लिइनु दुःखद विषय बनेको छ । जब चुनाव आउँछ तब नेताका नारा बन्छन बिदेशिएका नेपाली, जब पार्टी चलाउन चन्दा चाहिन्छ तब गरिन्छ बिदेशिएका नेपालीले पठाएको रेमिटान्सको भाषण । तर विदेशीएका नेपाली हामि फर्काउँछौ भन्ने नारा केवल भोटका लागि गरिएको प्रपंच मात्र हो ।
गणतन्त्र स्थापनाबाट मुलुकमा उद्योगधन्दा बढ्ने, पूर्वाधारको विकास तीव्र गतिले हुने र वैदेशिक लगानी पर्याप्त मात्रामा आई देशमै रोजगारीको सृजना भएर आर्थिक उन्नति हुने जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेन । जसका कारण नेपाली युवाहरु विदेशी भूमीमा श्रम बेच्न बाध्य छन् ।
सामाजिक परिवर्तन र आधुनिकताको प्रभावः
सामाजिक रूपमा पनि विदेशमा बसेर सम्पन्न जीवन बिताउने चाहना बढ्दै गएको छ । सामाजिक सञ्जालमा विदेशमा रहेका नेपालीहरूको जीवनशैली देखेर पनि धेरैले विदेश जाने सपना देख्न थालेका छन् । नेपालमा अवसरको कमी र आधुनिक जीवनको लोभले गर्दा विदेशमा बसेर राम्रो जीवन जिउने चाहना पनि मुख्य कारण बनेको छ ।
नेपाली युवाका यीनै आवश्यक्ता पूर्ती र नेपालमै रोजागारी प्रदान गर्न सरकार असक्षम देखिएको छ । सरकारको आर्थिक नीति खुला, उदार र प्रतिस्पर्धात्मक बजारमुखी नभएकाले मुलुकमा लगानीका निम्ति निजीक्षेत्र अग्रसर हुन सकेको देखिदैन । स्वदेशी उद्योगपतिहरु नै किंकर्तव्यविमूढ बनिरहेकाले विदेशी लगानी पनि आउन सकेको छैन । वैदेशिक लगानी नआउनु, उद्योगमा मजदूर समस्या हुनु, कम क्षमतामा चलेका उद्योगहरु बन्द हुँदै जानु र नयाँ उद्योगधन्दा खुल्न नसक्नु नै बढ्दो बेरोजगारीको कारण हो । यही प्रक्रियाबाट राज्यसत्ता सञ्चालन हुँदै जाने हो भने वैदेशिक रोजगारमा जाने नेपालीको संख्या आउँदा वर्षमा झनै बढ्ने स्थिति देखिएको छ ।
निष्कर्षः
नेपालीहरूले नेपालमा बस्न नचाहनुको पछाडि रोजगार, शिक्षा, स्वास्थ्य, र राजनीतिक अस्थिरता जस्ता धेरै कारणहरु छन् । यी समस्याहरू समाधान नभएसम्म नेपालीहरू विदेश पलायन भइरहने सम्भावना छ । नेपालले आफ्नो युवालाई रोक्न र स्वदेशमै अवसर दिनका लागि समग्र विकासमा जोड दिनु आवश्यक छ ।
देशमा रोजगारीको सृजना गर्न औद्योगिक विकास हुनै पर्छ । उद्योगको विकास हुँदा त्यसका अग्र–पश्च सम्बन्धहरूले समग्र मुलुकको विकासमा योगदान पु¥याउँछ । कच्चापदार्थ उत्पादनदेखि प्रशोधन र तयारी वस्तु उत्पादनदेखि बजार विस्तारसम्मका आर्थिक क्रियाकलाप उद्योगले सञ्चालन गर्न सघाउँछ । तर, पछिल्लो समय नेपालमा उद्योगको विकास गर्नुको सट्टा देशलाई विदेशी सामानको व्यापारिक केन्द्र बनाउँदै लगिएकाले पनि रोजगारीका अवसरहरु कम हुँदै गएका छन् । यस विषयमा नीतिनिर्मातालगायत सम्बद्ध पक्षले निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएको छ । नत्र अबको केही दशकमै सुन्दर नेपाल युवाविहीन बन्ने पक्का छ ।













