श्रीलंकन एयरलाइन्सको चरम लापरबाहीका कारण सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडीसहित सयौं यात्रु बिचल्लीमा परेका छन्।
निर्धारित समयअनुसार बुधबार दिउँसो १ः२० बजे उड्नुपर्ने श्रीलंकन एयरलाइन्सको फ्लाइट प्राविधिक कारण देखाई झन्डै ६ घण्टा ढिलो गरी साँझ ६ बजे मात्र कोलोम्बो प्रस्थान गरेको थियो।
अन्तर्राष्ट्रिय नियमानुसार कुनै पनि फ्लाइट तीन घण्टाभन्दा बढी ढिलो भएको अवस्थामा खानाको व्यवस्था गर्नुपर्ने नियम भए पनि यात्रुहरूले आफैंले खर्च गरेर खानुपरेको थियो। जसले गर्दा विमानमा सवार खेलाडीसहित थुप्रै यात्रुलाई समस्या परेको थियो। कोलोम्बो ट्रान्जिट भएर अन्य देश जाने यात्रुहरूको त झन् बिजोग नै भएको छ।
किनभने उक्त विमानका यात्रुहरूको लगेज आगामी अक्टूबर ६ मा हुने काठमाडाैं– कोलोम्बोको अर्को फ्लाइटमा मात्र आउने श्रीलंकन एयरलाइन्सको ब्यवस्थापनले जानकारी गराएको छ। काठमाडौ र कोलोम्बो फ्लाइट हप्तामा दुई पटक मात्र हुने गरेको छ।
यसले कोलोम्बो ट्रान्जिट भएर अन्य देश जानेहरूलाई आफ्नो लगेज कुर्ने कि अर्को फ्लाइट समात्ने भन्ने चिन्ता बढेको छ। धेरै यात्रुहरूको लगेजमा अति आवश्यक औषधि समेत रहेको सोही फ्लाइटमार्फत कोलोम्बो पुगेका एक यात्रीले जानकारी दिएका छन्।
लगेजकै कारणले थुप्रै विद्यार्थीले आफ्नो कनेक्टिंग फ्लाइट छुट्ने भनेर एयरलाइन्सका स्टेसन म्यानेजरलाई बताए पनि समस्या समाधान गर्नेतर्फ कुनै चासो नै नदिएको बताएका छन्। दुई दिनपछि मात्र लगेज आउने भनिएपछि कोलोम्बो पुगेका नेपाली भलिबल टोलीलाई पनि असर परेको छ।
टोलीलाई आवश्यक पर्ने किट र जर्सी लगेजमा नै रहेको छ। प्रतियोगिता ६ तारिखमा सुरु हुँदै छ र खेलाडीहरूले पनि सोही दिन मात्र आफ्नो लगेज पाउनेछन्। यसले खेलाडीको प्रशिक्षणलगायत अन्य तयारीमा अप्ठ्यारो पर्ने निश्चित छ।नागरिक दैनिकमा समाचार छ ।













