पोखरा, २४ मंसिर । पोखराको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यू भएको छ । पोखरा–१८ सराङ्कोट घर भएकी ६५ वर्षीया धनसरी घर्तीमगरको शुक्रबार दिउँसो अस्पतालको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।
मुटुको समस्याको उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि धनसरी अस्पताल पुगेकी थिइन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको हेरचाहमा खटिएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको कास्की प्रहरीले जनाएको छ ।
ढोका खोल्ने वित्तिकै महिला एक्कासी खसेर धनसरी तल्लो तलामा बजारिएकी थिईन् । टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
जिल्लन प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका ढोका खोल्ने वित्तिकै महिला खसेको हुनसक्ने वताए । ढोकाको पछाडि रेलिङ नभएका कारण उनी एक्कासी खसेको हुनसक्ने प्रहरीको भनाई छ । अस्पताल प्रशासनले भने अस्पताल पुनःनिर्माणको काम भईरहेका कारण रेलिङ नभएको जनाएको छ । घटनाको अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।













