काठमाडौं । बझाङका एक युवक मलेसियामा बिरामी भई उपचार गर्न नेपाल आउन तेस्रो पटक टिकट काट्दा समेत नेपाल एयरलाइन्सले ल्याउन नमानेको खुलेको छ ।
बैदेशिक रोजगारका शिलशिलामा मलेसिया पुगेका बझाङका दीपक धामी एक्कसी बिरामी भई उपचारका लागि नेपाल आउन खोज्दा टिकट काटिसकेको अवस्थामा नेपाल एयरलाइन्सले तीन पटकसम्म फिर्ता पठाएको खुलेको हो ।
नेपाल रिटर्नी एशोसियसनका अध्यक्ष प्रविन पौडेलले टिकट काटिसकेको अवस्थामा बिरामी र उनका सहयोगीलाई विमानमा चढ्न नदिएको भन्दै आपत्ति जनाएका छन् । साथै उनले गृहमन्त्री, प्रधानमन्त्री लगायतसँग यस विषयमा कुरा राख्न खोज्दा सम्पर्क हुन नसकेको समेत बताएका छन् ।
पौडेलले एक अपिल जारी गर्दै धामीको नेपाल आएर उपचार गर्न नपाई प्रदेशको भूमिमा ज्यान जाने अवस्थाबाट जोगाउने प्रयासमा सहयोग गर्न आग्रह गरेका छन् ।














