काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ ।
दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएर दुर्घटना भएको स्रोतले जनाएको छ । शनिबार राती दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो ।
महासचिव पोखरेल सवार गाडी शनिबार राती दुर्घटना भएपनि आइतबार मात्रै उपमहासचिव विष्णु रिमालले दुर्घटनाको तस्विर सार्वजनिक गरेका हुन् । आइतबार एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर रिमालले सार्वजनिक गरेका हुन् ।
दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्काको हातमा भने चोट लागेकाले हातमा प्लास्टर गरिएको रिमालले जानकारी दिए ।













