धेरैजसो पुरुषले आफ्नो अनुहारको छालाको हेरचाह गर्दैनन्, जस्तो महिलाले गर्छन्। धेरैले छालाको हेरचाहलाई सौन्दर्यतासँग मात्र जोडेर हेर्ने गर्छन्। सौन्दर्यताको लागि छालाको स्याहार गर्नुपर्छ भन्ने मान्यता धेरैमा छ। तर, अनुहारको छालाको स्याहार स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै आवश्यक छ।
महिला होस् वा पुरुष जो-कोहीले पनि अनुहारको छालाको स्याहार गर्न आवश्यक छ।
कसरी गर्ने ?
हाम्रो अनुहारको छालामा रातारात एक प्रकारको तेल आउने गर्छ। जसले हाम्रो अनुहारमा संक्रमण हुन सक्छ। त्यसैले पुरुष होस् वा महिला दुवैले बिहान उठेर हातमुख धुनु धेरै आवश्यक छ।
घरबाहिर हिँड्दा घाम वा फोहोरका कणहरुले छालाको छिद्राहरु बन्द हुन्छन्। त्यसैले बाहिरबाट घर फर्किएपछि राम्रोसँग मुख धुनुहोस्।
घरबाहिर निस्कँदा सूर्यको हानिकारक किरणहरुबाट जोगिन सनस्किन प्रयोग गर्नुहोस्। सनस्किनले सूर्यको किरणबाट छालामा हुने क्षतिलाई कम गर्छ। सनस्किनको प्रयोगले तपाईंको अनुहारमा भएको कालो दाक र बूढेसकालको असरबाट बच्न मद्दत गर्छ।
तपाईं बाहिर गर्मीमा हुनुहुन्छ र धेरै पसिना आएको छ भने फेसवाइपको प्रयोग गर्न सक्नुहुन्छ। आफनो झोलामा सधैं फेसवाइफ राख्नुहोस्। यसले तपाईंको अनुहारलाई फोहोर हटाउनुका साथै तपाईंलाई छिटै ताजा महसुस गराउने काम गर्छ।













