पोखरा, २८ कात्तिक । नक्कली सुनका गरगहना धितोमा राखी बैंकबाट २४ लाख रुपैयाँ कर्जा लिएको आरोपमा कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पर्वत जिल्ला कुश्मा नगरपालिका–३ घरभई हाल पोखरा–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
बिभिन्न मितिमा पोखरा–१७ को बिरौटा स्थित राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार रुपैयाँ र सोही बैंकको पृथ्वीचोक शाखाबाट सात लाख ४५ हजार रुपैयाँ कर्जा लिएको र लामो समयसम्म व्याज र कर्जावापतको किस्ता नबुझाएपछि शंका लागि सुनारले राखेको सुन चेक जाँच गर्दा नक्कली भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
पक्राउ गरिएका सुनारलाई जिल्ला अदालत कास्कीबाट ठगी, अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि प्रक्रिया अघि वढाइएको जानकारी प्रहरी नायव उपरीक्षक तिवारीले दिनुभयो । सुनारले बैंकमा धितो राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँचका लागि पठाइएकोमा उक्त गरगहना नक्कली सुन ठहरिएको परीक्षण प्रतिबेदनबाट प्राप्त भएको जानकारी तिवारीले दिनुभयो ।













