कृत्रिम बौद्धिकता अर्थात एआई, आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले विश्वभर करोडौं मानिसले रोजगारी गुमाउनु पर्ने अवस्था सृजना गरिरहेको छ । तीव्ररूपमा अगाडि बढिरहेको यस प्रविधिका कारण दक्षिण कोरियामा मात्र ४० लाख मानिसले रोजगारी गुमाउन सक्ने अनुमान गरिएको छ । एआईले आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी जोखिममा पार्न सक्ने त्यहाँको केन्द्रिय बैंकले प्रक्ष्येपण गरेको छ । एक रिपोर्ट ।ग
आगामी दुई दशकमा दक्षिण कोरियामा मात्र करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ ।
बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकील, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् ।
अध्ययन अनुसार उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठुलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठुलो जोखिम छ । एआईले चिकित्सकको विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठुलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ ।
अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिहरु धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् । बैंक अफ कोरियाको अध्ययन अनुसार एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ–नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।
यद्यपी यसबारे विज्ञहरूले केही चिन्तित हुनु स्वाभाविक भए तापनि अत्यास मान्नुपर्ने बेला आई नसकेको बताएका छन् । केही अध्ययनहरूले मानिसहरूका काम रोबोटले विस्थापित गर्ने कुरा आवश्यकताभन्दा बढ्ता चर्चा भएको देखाएका छन् । सन २०२२ को नोभेम्बरमा अमेरिकाको युटास्थित ब्रिङ्हम यङ युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक एरिक डालिनले गरेको अध्ययनमा धेरै मानिसहरूले सोचेको दरमा रोबोटले मात्र मानिसहरूको काम विस्थापित नगरेको देखाउँछ ।













