पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टहरुलाई राजनीतिबाट पाखा लगाउने दिन मंसिर ४ गते भएकाले निर्वाचनमा सजग भएर आफ्नो मत प्रयोग गर्न कास्कीका मतदातालाई आग्रह गर्नुभएको छ ।
राप्रपा कास्कीद्धारा शुत्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पुराना नेताले गर्दै आएको भ्रष्टाचारका कारण देशले आर्थिक रुपमा प्रगति गर्न नसकेको बताउनुभयो । अझैपनि भ्रष्टहरुलाई जिताउने काम भयो भने विकासको गति अगाडि वढ्न नसक्ने भनाई उहाँको छ । काँग्रेस र एमालेमा पनि केही राम्रा नेता रहेको भनाई उहाँको छ ।
आम नागरिकले आफ्ना सन्तानको शिक्षा र स्वास्थ्यमा ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्था छ, जीवनभरि कमाएको पैसाले पनि नपुगेर जग्गा जमिनसमेत बिक्री गरी स्वास्य उपचार र शिक्षामा खर्च गर्नुपर्ने अवस्था नेपालमा छ, शिक्षा र स्वास्थ्य आफ्नो पार्टीले निःशुल्क गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

संसदमा जनताका कुरा राख्ने व्यक्ति म एक्लै भएँ, अबको निर्वाचनमा मलाई साथ दिन राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताएर पठाइदिनुहुन उहाँले कास्कीका मतदातालाई आग्रह गर्नुभयो । आफू र आफ्नो पार्टीले यो जुनीमा हैन अर्को जुनीमासमेत भ्रष्टाचार नगर्ने बाचा अध्यक्ष लेङ्देनले कास्कीका जनता माँझ गर्नुभएको छ ।
‘सुकुम्बासी समस्या र नागरिकता विधेयक चुनावी एजेन्डा मात्रै भयो । सुकुम्बासी समस्या समाधान मौका पाए राप्रपाले एकैपटक गर्छ ।’ उहाँले भन्नुभयो । पटकपटक मौका पाउँदा कसैले पनि एउटा सम्झनयोग्य काम नगरेको आरोप उहाँको छ । देश बचाउने एजेन्डा राप्रपाले ल्याएको र देशको हित चाहनेले राप्रपालाई भोट दिन समेत उहाँले आग्रह गर्नुभयो ।
अहिले देश बचाउने एजेन्डा राप्रपाले ल्याएको छ ,आफ्नो पार्टी नछाड्नुहोस तर भोट भने राप्रपालाई दिनुहोस अध्यक्ष लिङ्देनले आग्रह गर्नुभयो । राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले देश लुटन नपाएर राज संस्था ठिकछैन भन्नेहरुलाई निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभयो । भोका चितुवाले देशलाई खोक्रो पारिसके नेता गुरुङले भन्नुभयो– देशलाई भ्रष्टाचारबाट मुक्त गर्न जरुरी छ । सो अवसरमा राप्रपा कास्कीका नेता शंकर खराल लगायतले आफ्ना भनाई राखेका थिए ।













