पछिल्लो समयमा काठमाडौँ लगायत देशका धेरै भागमा डेंगुको संक्रमणबाट तीव्र गतिमा बिरामीहरु बढिरहेका छन् । डेंगुबाट संक्रमण हुँदा बिरामीलाई असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, हाड जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि जस्ता लक्षणहरु देखिन्छन् ।
डेंगु नियन्त्रणका लागि सबै पक्ष लाग्नु जरुरी देखिएको छ । किनभने फैलिरहेको प्रकोप रोक्न स्वास्थ्यकर्मीले मात्रै गरेको प्रयास प्रयाप्त नहुन सक्छ ।
रोकथामका उपायहरू :
– गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकको बोतल तथा भाँडा आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
– फुलदानीमा रहेको पानी फेरिरहनुपर्छ ।
– प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ ।
– सम्भव भएसम्म झुल प्रयोग गर्नुपर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
– घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
– घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।













