काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउन मतदाताहरुसँग आग्रह गर्नु भएको छ ।
आफू सांसद भएमात्रै काँग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाई छ ।
पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा महासचिव थापाले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गनूृभयोे ।
त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरुले आफूलाई जिताउनु पर्ने उहाँको भनाइ छ । उहाँले सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पूरै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
महामन्त्री थापाले अवको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिनु भयो ।
आगामी निर्वाचनपछि सत्तारुढ गठबन्धनको बहुमत आउने दावी गर्दै महामन्त्री थापाले त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताउनु भयो ।













