अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ?
शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् —
– शरीरभित्रको कुनै रोगका कारण पनि यस्ता धर्सा आउने गरेको पाइन्छ ।
– छोटो समयमा शरीर अत्यधिक मोटाउनु र त्यस्तै गरी छोटो समयमा नै दुब्लाउनु सेता धर्सा आउने महत्वपूर्ण कारण हो । अत्यधिक तन्किँदा छालाको भित्री भागका रेसाहरू फाट्न पुग्छन् । यतिवेला छालाको माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यति नै वेला सेता धर्साहरू जन्मिन्छन् । यस्तो बेला छाला धेरै कन्याउँदा धर्साहरु झनै बढी देखिन सक्छन् ।
– बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने गर्छ । बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिन पुग्छ । बच्चा जन्माइसकेका महिलाको शरीरमा सेता धर्सा बढी देखिनुको प्रमुख कारण पनि यही हो । यसबीचमा छालामा सेता धर्का बनिसकेका हुन्छन् ।
– युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।













