१. जो व्यक्ति प्रसन्नता र दुःखको वेगलाई रोक्न सक्षम छ र सङ्कटमा पनि धैर्य धारण गर्न सक्छ उही नै धन–सम्पत्ति प्राप्त गर्ने अधिकारी हो ।
२. अग्नि महातेजस्वी छ । यो दाउरामा लुकेको हुन्छ । जबसम्म कसैले यसलाई प्रज्ज्वलित गर्दैन तबसम्म काठलाई डढाउँदैन । काठलाई घोटेर उद्दीप्त गरेपछि यसले आफ्नो तेजद्वारा जंगल र अन्य वस्तुलाई भष्म पारिदिन्छ ।
३. हे राजन ! आफ्नै कुलमा जन्मेका अग्नि समानका तेजस्वी पांडव क्षमा भावनाले युक्त छन् । काठमा लुकेको अग्नि समान प्रचण्ड गुण र प्रभावलाई लुकाएर शान्त छन् । यदि यी भड्किए भने कुललाई नै डढाएर भष्म पार्नेछन् ।
४. जसको भित्र तप, इन्द्रिय संयम, वेदाध्यायन, यज्ञानुष्ठान, पवित्र–विवाह सदा अन्नदान र उत्तम आचरण– यी सात गुणविद्यमान छन् तिनै उत्तम कुल कहलाउँछन् ।
५. जुन कुलका सदाचारमा कुनै कमी आउँदैन, जहाँ माता–पितालाई कुनै कष्ट हुन दिइँदैन, ती कुलका मानिस प्रशन्नतापूर्वक धर्मको पालना गर्दछन् । कुलको यशको ख्याति गर्दछन् । जुन कुलका मानिस भनाई र गराई दुवैमा मिथ्यालाई पूर्णतः परित्याग गर्दछन्, यस्ता कुल नै महाकुल कहलाउँछन् ।
६. यज्ञ नगर्ने, निन्दित कुलमा विवाह गर्ने, वेदको त्याग गर्ने र धर्मको मर्यादा उल्लङ्घन गर्नाले उत्तम कुल पनि नीच कुल बन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













