१. प्रेम, कुण्डलिनी जागरण कुरा गर्ने वस्तु हैन । जब यो तिमीमा घट्नेछ त्यसमा कसैको स्पर्श हुनु हुँदैन । अर्काको स्पर्शको स्पन्दनको अनुभूति प्रेम, भक्ति जागरण हैन । यो त आफूभित्रबाटै आउनुपर्छ ।
२. तिमी भावले केही माथि उठ । नारी तनबाट पुरुष तनबाट माथि उठ । सांसारिक बुद्धिभन्दा माथि उठ । मनको सतहभन्दा माथि उठ । त्यहाँ विश्वास छ, विश्वबुद्धि छ, विश्वातीत मन छ । यो आत्म आन्दोलन हो ।
३. श्वासको आघात विना प्रेम आदान–प्रदानको, सम्भोगको योग पनि असम्भव छ । श्वासको आघात विना कुण्डलिनीको जागरण पनि असम्भव छ । कुण्डलिनी जागरण पछि उध्र्वगामी यात्रा शुरु हुन्छ कुण्डलनीको समाधिस्थ हुनु नै उध्र्वगामी यात्राको लक्ष्य हो । समाधि त्यो बिन्दु हो जहाँ गएर जीव सत्–चित् आनन्दमा गएर विश्राम गर्दछ । त्यो बिन्दु हो जहाँ सम्पूर्ण जीवनको प्रकारात्मक क्रिया घट्दछ ।
४. शरीर मात्र भौतिक हैन । यही भौतिक शरीरभित्र अन्य छ वटा शरीर छन् । पूरै सात शरीरद्वारा मण्डित यो शरीर रुपी मन्दिर हो । यसभित्र गर्भगृहमा प्रवेश हुन्छ । तिमीले अनेकौँ शरीरका कवच ओढेका छौ, ती सबैलाई धर्मको कवच लगाइदेऊ । धर्मले जीवनको लक्ष्यतिर लैजान्छ । संसारतिर हैन । जीवनको लक्ष्य संसा हैन । जबसम्म तिमी शरीरको धर्म निर्वाह गर्छाै तबसम्म प्रकृतिले तिमीलाई संसारतर्फ लैजाने छ ।
५. प्रकृतिको धर्म हुन्छ । प्रकृतिका तत्वले आफ्नो धर्म छोड्दैन । देशको पनि धर्म हुन्छ, शरीरको धर्म हुन्छ, मानवको आफ्नो धर्म हुन्छ । मानिसले आफ्नो धर्म छोड्नाले नै ऊ दुःखी छ । तनावमा छ । मानिसले धर्म फेर्न थालेको छ, के धर्म फेर्दैमा संस्कार फैलिन्छ ? नाम फेर्दैमा आत्मा फेरिन्छ ? त्यसैले मानव जीवनका लागि धर्म सर्वश्रेष्ठ छ । धर्म फेर्नाले अनेकौँ जन्म व्यर्थ जान्छन् । जे फेर्दछौ त्यो धर्म हैन ।
६. परमात्मालाई प्रसन्न पार्न चाहन्छौ भने स्वयम्लाई प्रसन्न पार्न सिक । साधाना गर, ध्यान गर, त्यसको फल पाउँछौ । तिमी त पूजा, प्रार्थना, आग्रह, निवेदन गर्छाै । भगवानको मूर्तिसँग माग्दछौ त्यसैले रित्तै फर्किन्छौ । तिमी माग्न जन्मिएका हैनौ । ध्यान र साधनामा मात्र तिमी हुन्छौ । ईश्वरको वरदान यो शरीर भित्र जाऊ र आफैलाई खोज । साधनामा अकस्मात तिम्रो अतित जाग्नेछ । आफ्नो शरीरको मृत्युबाट गुज्रिऊ र अन्तर्गमन गर । सुख, दुःख, शान्ति, अशान्तिलाई बुझ र स्वागत गर । स्वयम् आफ्नो उत्तरदायित्व लेऊ । केही घट्यो भने भाग्यलाई दोष नदेऊ । भगवानलाई दोष नदेऊ । यसो गर्न सक्यौ भने बाजी तिम्रो हो । म तिमीलाई एक्लो यात्रामा लान चाहन्छु, यहाँ पूजा प्रार्थना केही जाँदैन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













