अरुचिको तात्पर्य हो कि खाना ग्रहण गर्नमा रुचि नहुनु या भोक लाग्दा–लाग्दै पनि व्यक्ति खाना खानमा असमर्थ हुनु । यस्तो हुनुलाई नै अरुचि या खान मन नलाग्नु भनिन्छ । अरुचिको अर्थ स्पष्ट रुपमा यो हुन्छ कि भोक लागेर पनि भोजन स्वादिष्ट भएर पनि भोजन मीठो नलाग्नु र घाँटीभन्दा तल नजानु ।
चिया, कफीको अधिक सेवन, विषम ज्वरो पछिको समय, शोक, डर, अति लोभ, अति क्रोध एवं गन्ध, छातीको जलन, दिसा राम्रो नआउनु, कब्जियत हुनु, लिभर तथा आमाशायमा खराबी हुनु आदि कारणले हुनेगर्छ ।
घरेलु उपचार
१. खाना खानुभन्दा एक घण्टा पहिले पंचसकार चूर्ण एक चम्चा तातोपानीसँग खानाले खुलेर भोक लाग्छ ।
२. राती सुत्ने समयमा अमला ३ भाग, हर्राे २ भाग तथा बर्रो १ भागलाई मसिनो चूर्ण बनाएर एक चम्चा मनतातो पानीसँग लिनाले बिहान दिसा खुल्दछ एवं भोक पनि खुलेर लाग्दछ ।
३. खानामा पातलो एवं हल्का व्यञ्जनहरुको प्रयोग गर्नाले खाएको खाना तुरुन्त पच्दछ, जसले गर्दा भोक पनि चाँडो लाग्दछ ।
४. खाना खाइसकेपछि अजवायन चूर्ण गुडसँग खाएर मनतातो पानी पिउनाले खाएको खाना पच्दछ, भोक लाग्छ र खाना खानमा रुचि पैदा हुन्छ ।
५. खाना खाइसकेपछि हिंग्वष्टक चूर्ण एक चम्चा खानाले पाचनक्रिया ठीक हुन्छ ।
६. खाना खाइसकेपछि बिहानबेलुका दुई चम्चा झण्डु पञ्चावस सिरप लिनाले खाएको खाना चाँडो पच्छ र खानाप्रति रुचि जागृत हुन्छ ।
७. हरियो धनियाँमा हरियो खुर्सानी, टमाटर, अदुवा, हरियो पुदिना, जीरा, हिङ, नुन, बिरेनुन हालेर सिलौटामा पिसेर बनाएको चटनी खानाले खानाप्रति इच्छा फेरि उत्पन्न हुन्छ ।
साभारः ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट













