१. शिक्षा भनेको मन मस्तिष्कमा गडेर रहेको शक्तिको प्रवाहलाई बाहिर ल्याउनु हो । यसमा मन–मस्तिष्कले मद्दत गर्दछ । त्यसैले मानिसको मन–मस्तिष्कलाई तिखार्न र सघाउन भइरहेका अनेक माध्यमहरुमध्ये शिक्षा जति व्यापक र प्रभावकारी अर्काे आधार छैन ।
२. ज्ञानको उद्देश्य यथार्थको प्रकटीकरण गर्नु हो भने ज्ञानको कार्य आफूले आफैलाई चिन्नु हो, विश्व समुदायको सङ्गठित सदस्यका रुपमा आफूलाई चिनाउनु हो र आफ्ना जायज कर्तव्यहरु पूरा गराउनु हो ।
३. ज्ञानको मूल्य सूचनाको गहिराइमा होइन, त्यसको प्रकृति र गुणस्तरमा भर पर्दछ । त्यसैले गुणयुक्तता र गुणहीनता नै ज्ञानको खास सीमा रेखा हो । यही गुणयुक्तताका कराण शारीरिक दृष्टिले बलिया पशुलाई वशमा राख्न मानिस सफल भएको हो ।
४. सही ज्ञानको सही प्रयोगले मात्र आफूले आफूलाई चिन्ने अवसर दिन्छ । यसबाट एकापसका ईष्र्या, रिस, घृणा, द्वेष, झगडा तथा सङ्कीर्णताबाट मुक्त भएर मानिसहरुबीच आफूआफूमा एक अर्काको स्वतन्त्रता र अस्तित्वको सम्मान गर्ने बानी विकसित हुन्छ ।
५. विशवका सबै मानिस आ–आफ्नो ठाउँमा महान् छन्, आत्म निर्णय गर्ने स्वतन्त्र छन् । हरेक मान्छेमा ब्रह्माण्ड र प्रकृतिका विशेषतालाई आफ्नो अनुकूल प्रयोग गर्न सक्ने क्षमता पनि छ, तर क्षमता प्रस्फुटित गराउनका लागि ज्ञानको आवश्यकता पर्दछ ।
६. व्यक्तिगत स्वतन्त्रताको सम्मान हुन सकेमा हरेक व्यक्ति आनन्दमा रमाउन सक्दछन् र सबै खुशी पनि हुन सक्छन् । यसका लागि हरेक मानिसको दृष्टिकोण फराकिलो, उदार र गहन हुनुपर्दछ, जसले गर्दा मान्छेले विगतका डरलाग्दा आनीबानी र निरर्थक व्यवहार त्याग्न सक्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













