पोखरा, ११ कात्तिक । तिहार पर्वको अवसरमा पोखरामा आयोजित १५ औं भाइटीका महोत्सव २०७९ मा देशविदेशका पर्यटकसहित ३५ जनाले टीका लगाएका छन् । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १५ औं भाइटीका महोत्सवमा अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान, इटली, जर्मनी लगायतका देशका पर्यटकले भाग लिएका हुन ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राले सहभागीलाई भाइटीका लगाइदिएका थिए । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा नयाँ आसा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए ।कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थान महोत्सवले सघाउने विश्वासका साथ महोत्सव सम्पन्न गरिएको
बताए ।
कोभिडकै कारण अघिल्ला बर्ष यस्तो महोत्सव हुन नसके पनि विगत बर्षदेखि यसलाई पुन : निरन्तरता दिन थालिएको हो । महोत्सवमा कोभिड अघिका वर्षहरुमा कतिपय पर्यटक दोहोर्याएर समेत भाइटीका लगाउन आउने गरेको भएपनि यो पटक सबै नयाँ सहभागीले टीका लगाएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उहाँले बताउनु भयो ।
तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ । कार्यक्रमका अवसरमा संघका महासचिव राजेन्द्र ढकालले भाइटीका महोत्सवका बारेमा देश विदेशका सहभागीलाई जानकारी दिएका थिए । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको थियो ।