हात्तीको गोबरको मूल्य कति होला त ? अचम्म त यो छ कि हात्तीको गोबर अर्थात् लादीबाट बनाइने एक प्रकारको कफी विश्वकै सबैभन्दा महँगो कफी साबित भएको छ । सुन्दा पनि कस्तो घिन लाग्ने कुरो !
हात्तीको गोबरबाट निकालिएको कफी नै विश्वको सबैभन्दा महँगो कफी हो, जुन थाइल्याण्डमा तयार गरिन्छ । उत्तरी थाइल्याण्डको पर्वतीय क्षेत्रमा उत्पादन गरिने यो कफीमा विशेष स्वाद हुन्छ । यसका कारण यो कफी निकै महँगो पर्छ ।
हात्तीको गोबरबाट बनेको यो कफी यति महँगो हुन्छ कि एक कप कफी खाँदा ग्राहकले ३० पाउण्ड अर्थात् ४ हजार २ सय रुपैयाँ भन्दा बढी मूल्य तिर्नुपर्छ । कालो हात्तीदाह्रे कफी भनिने यो अमूल्य कफी धुलोमा किन्दा एक किलोको ११ सय डलरसम्म पर्छ । यो कफी बनाउने विधि पनि अचम्मको छ । सुरुमा हात्तीलाई अरु आहारासँगै कफीका गेडा पनि खुवाइन्छ ।
हात्तीको पेटमा कफीको बाहिरी बोक्रा पच्छ तर भित्री गेडा भने मलसँगै मलद्वारबाट बाहिर निस्कन्छ । अनि हात्तीको मलमा रहेका ती कफीका बियाँ बटुलिन्छ अनि ती बियाँलाई प्रशोधन गरी धुलो कफी तयार गरिन्छ । हात्तीको पेट तथा आन्ध्रामा हुने पाचन रसका कारण त्यस्तो बियाँबाट बनाइन कफी विशेष स्वादको हुने बताइन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













