सबै इच्छा एउटै हो, इच्छाहरूमा भेद गर्नु भ्रम हो, भ्रमद्वारा–सिद्धान्त, आदर्श, मिथ्या दर्शनको विस्तार हुन्छ । चित्तमा नाम र रूप बदल्ने चालाक प्रक्रिया मात्रै भएको हो, चित्त त्यागको साहस नभएर यी सबै कल्पित व्यवस्था बनेका हुन् । संसारीले शरीर, धन स्त्री र पुत्रका मोहमा झगडा गर्छ भने धार्मिकले सम्प्रदायगत मान्यता र रीतिरिवाजका मोहमा झगडा गर्छ । वास्तवमा मोह र झगडा सर्वत्र छ, बुद्धिमान् त्यो हो जसले— मोहको त्याग गर्ने क्षमता राख्छ । मोह–शरीर र मनको वासनाको भोग, रक्षाको इच्छाबाट उत्पन्न हुने प्रवाहको नाम हो ।
म नेपाली हुँ, मेरो भाषा नेपाली हो, म बाहुन हुँ, म अरू जातिभन्दा श्रेष्ठ छु । म सनातन धर्म मान्दछु । म गरीब या धनी छु, म राजा, मन्त्री, सेनापति आदि हुँ । म पति हुँ, पिता हुँ, माता हुँ, यो म हुँ, यो मेरो हो, भनिने अहङ्कारको बाहिर विस्तार प्रक्रिया मोह शब्दले जानिन्छ । सानो ठूलो इच्छामा अल्झिएर जन्म मृत्युको प्रवाहमा बगिरहन्छ ।
मूलमा एउटै पाप छ, आपूmलाई नचिन्नु आत्मालाई मारी देह बचाउनु, देहका मोहले झुट बोल्नु, चोरी गर्नु, व्यभिचार गर्नु, नशा गर्नु, हिंसा गर्नु– आदि पञ्च पाप हुर्किन्छन् । यसपछि पापको आफ्नै बजार छ ।
हामी पहाडबाट मधेश, मधेशबाट पहाड गरिरहन्छौँ । पहाड भनेको सौन्दर्य तथा मधेश भनेको सुविधा हो । हामी धेरैजसो सौन्दर्य र सुविधाका लोभमा कसलाई किन सौन्दर्य र सुविधा चाहिएको हो त्यो पनि बिर्सिन्छौँ ।
हाम्रो स्थिति घरमा आगो लाग्यो सबै सामान बचायौँ तर एकमात्र उत्तराधिकारी सन्तान त्यसै आगोमा डढेर मरेछ । साधनहरू, विषयसुखहरूको सङ्ग्रहमा आत्मा मर्दछ, केवल बाँच्दछ— वासना, भ्रम र भवप्रवाह ।
शान्त भएर, केहीबेर सुस्ताएर यथार्थ स्थिति के हो यो हेर्न समय दिन सके मनुष्यताको यो दुर्गति, यो अपमान यस्तो अव्यवस्था हुने थिएन होला !
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













