भोजन हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग हो । भोजनको उद्देश्य नै शरीरलाई आवश्यक पोषण पुगोस् भन्ने हो । भोजनबाट शरीरले आवश्यक इनर्जी पाओस् र रोगहरु लाग्न नदेओस् भन्ने अपेक्षा गरिन्छ । यस्ता सम्पूर्ण गुण शाकाहारी भोजनबाटै पाउन सक्छौँ । शाकाहारी भोजनले मानिसलाई ऊर्जावान् र निरोगी बनाउँछ ।
यसका अन्य फाइदा यी हुन्ः
– शाकाहारी भोजन हलुका हुन्छ र पचाउन सजिलो हुन्छ । यसले गर्दा धेरै ऊर्जा पनि खर्च हुँदैन र शरीरमा स्फुर्ति आउँछ । शाकाहारबाट पाचनको गति बढ्ने हुँदा यसले पाचनतन्त्रलाई नै बलियो बनाउँछ ।
– शाकाहारी भोजनमा शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट्स र फ्याटको उचित मात्रा जस्ता सबै पोषक तत्व पर्याप्त मात्रामा पाइन्छ । फलफूल र तरकारीबाट मिनरल, क्यालोरी, फाइबर र भिटामिन प्रचुर मात्रामा पाइन्छ ।
– शाकाहारी भोजनमा विषाक्त पदार्थ हुँदैन । यसमा भएका गुणहरूले शरीरको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्ने हुनाले शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ । छिटो बिरामी पर्ने अनि गम्भीर रोग लाग्ने सम्भावना रहँदैन ।
– शाकाहारी मानिसले कार्बोहाइड्रेट्स धेरै खाने भएकाले उच्च रक्तचापको समस्या आउन नदिनुको साथै रक्तचाप नियन्त्रणमा राख्न पनि शाकाहारी भोजनले मद्दत गर्छ । शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कमै हुन्छ ।
– शाकाहारी भोजनमा बोसो र कोलेस्ट्रोलको मात्रा कम हुने भएकाले शाकाहारीहरूलाई हृदयरोग र मुटुरोगको सम्भावना कम हुन्छ ।
– शाकाहारमा एस्ट्रोजेनको मात्रा कम हुनुको साथै फल, तरकारी र अनाजमा रेसा र एन्टीअक्सिडेन्ट गुणहरू प्रचुर मात्रामा पाइने हुँदा कारण क्यान्सर लाग्ने सम्भावना पनि कम हुन्छ ।













