पोखरा । विद्यार्थीको बिज्ञान प्रतिको क्षमतालाई उजागर गर्ने उद्देश्यले पोखरामा दुई दिने प्रदेशस्तरीय विज्ञान–प्रविधि महोत्सव सुरु भएको छ । पोखरा–९ नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा बुधबार हिमालय साइन्र्स फाउण्डेशन र विज्ञान शिक्षक समाजले उक्त महोत्सव आयोजना गरेको हो । महोत्सवमा यस क्षेत्रका ३५ निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीले तयार पारेका विज्ञान–प्रविधिका सामग्रीहरु प्रस्तुत गरिएको छ ।
उक्त महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता प्रदर्शनीले विद्यार्थी भित्रको अन्तरनिहित क्षेमता अभिवृद्धि मात्र नभएर विज्ञानप्रति चासो राख्ने विद्यार्थीलाई थप हौसला प्रदान हुनुको साथे उत्साह जाग्ने बताउनुभयो ।
विज्ञान– प्रविधिकै कारण विकसित राष्ट्रले दु्रत गतिमा प्रगति गरेको बताउँदै प्रमुख आचार्यले भविष्यमा विज्ञानप्रति अगाडि वढ्न चाहने विद्यार्थीलाई यस्ता प्रदर्शनीले विज्ञान सम्बन्धी थप नयाँ कुरा जान्ने अवसर समेत प्रदान गर्ने बताउनुभयो ।
जिल्ला शिक्षा समन्वय इकाई कास्कीका समन्वय प्रमुख लोकनाथ आचार्यले कास्की जिल्लामा विज्ञान र गणित विषयमा विद्याथी कमजोर भएको बताउँदै यस्ता प्रदर्शनीले विद्यार्थी विज्ञानप्रति थप उत्साहित हुँदै नयाँनयाँ आविश्कार गर्न सक्ने बताउनुभयो ।
विज्ञान प्रति रुची राख्ने विद्यार्थीले तयार पारेका सामग्रीबाट महोत्सवमा अवलोकनका लागि आउने विद्यार्थीलेपनि नयाँ कुरा सिक्ने र विज्ञानप्रति चासो राख्ने विश्वास समन्वय इकाई प्रमुख आचार्यले व्यक्त गर्नुभयो ।
हिसान कास्कीका अध्यक्ष यमबहादुर रोकाले विज्ञानका सामग्री प्रदर्शनले विद्यार्थीले थप नयाँ कुराको आविश्कार गर्न सक्ने क्षमता विकास गर्ने विश्वास व्यत्तः गर्नुभयो । प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले यस्ता प्रदर्शनी विद्यार्थीका लागि उपलब्धि मुलक हुने भएकाले समयसमयमा शैक्षिक गतिविधिहरु सम्बन्धित संंस्थाबाट भइराख्नु पर्नेमा जोड दिनुभयो । महोत्सवमा विद्यार्थीले तयार पारेका उत्कृष्ट विज्ञानका सामग्रीलाई पुरस्कृत गरिने बताइएको छ । उत्तः कार्यक्रमको अध्यक्षता हिमालय साइन्स फाउण्डेशनका अध्यक्ष आतङ्क बस्नेतले गर्नुभएको थियो । ।













