काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज ९सोमबार० कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ ।
त्यस्तै मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।













