साक्षात्कार क्षण प्रतिक्षणको सजगता हो यो । काल, क्रिया वा कृपाद्वारा प्राप्त हुँदैन । कालद्वारा जो प्राप्त हुन्छ त्यो भ्रम एवं मनोकल्पना हो । क्रियाद्वारा जो प्राप्त हुन्छ त्यो मनले सङ्कलित धारणको पुनः पुनः प्रयासले प्रस्तुत भएको हो । कसैको कृपाद्वारा प्राप्त वस्तु सम्मोहन, तथा आश्वासन मात्र हो । जो कालका अधीन छ त्यो नाशवान् छ । जो क्रियाका अधीन छ त्यो अत्यन्त भौतिक छ । कृपाका अधीन वस्तु श्रापद्वारा छिन्न सकिन्छ ।
साक्षात्कार–दुःख र भयको स्वभाव, उत्पत्ति कारण जान्नाले प्रकट हुन्छ । आसक्ति र लोभ नै दुःख र भयका कारण हुन् । यी दुईको जन्म देख्न नसक्नाले र यी दुई कसरी प्रकट हुन्छन् भन्ने नजानेर द्वन्द्व भएको हो । कामना र अज्ञानबाट राग र सङ्ग्रहको प्रवृत्ति हुन्छ । व्यक्तिमा राग वस्तुको सङ्ग्रह यी दुई मनोधर्म त्यागे निस्पृहता र अकिञ्चनता स्वतः आउँछ । जहाँ यी दुई छन् त्यहाँ । निराशा, दुःख, चञ्चलता रहँदैन । यी तीन नभएमा अहं शान्त वा समाप्त हुन्छ । यही खाली स्थानमा साक्षात्कार छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












