१. जसले ईश्वरको ध्यान गर्छ उही ईश्वरको प्यारो हुन्छ । ध्यान बिना ब्रह्मा–सम्बन्ध हुन सक्तैन । ध्यानको परिपक्व अवस्था नै समाधि हो, यसैलाई जीवनमुक्ति भनिएको छ । समाधि लामो समयसम्म रहन थाल्यो भने पमात्माको साथ प्राप्त हुन्छ ।
२. तिमीभित्र कर्तापनको अभिमान छ । कर्तापनलाई त्याग र द्रष्टा बन । स्वयम्लाई लिलामयमाथि छोडिदेऊ । मनलाई आत्मासँग छुट्याएर बुद्धिलाई आत्मासँग जोड तब तिम्रो परिचय केन्द्रसँग हुनेछ । तिमीलाई म मस्तिष्कको केन्द्रमा लान चाहन्छु ।
३. यो जीवन प्रेम र तपस्याको फल हो । महाराज दशरथले तपस्याको बलमा रामलाई पाएका थिए । यस्तो भुल नगर कि भावलाई राममय बनाउँदैमा रामको दर्शन हुन्छ । यस्तो भुल नगर कि भावलाई राममय बनाउँदैमा रामको दर्शन हुन्छ । भाव कर्म हैन, स्पन्दन हो । जसलाई गति दिएर प्रयोगमा ल्याउन सकिन्छ । भावले विवेक हुन्छ ।
४. तिमी जीवन ऊर्जाको त्यस केन्द्रलाई जगाउने प्रयास गर । म तिम्रो साथमा छु, तिमी मात्र साधक वन, गुरु आफै आउँछन्, तिम्रो त्यो केन्द्र तिम्रो त्यो ऊर्जा धाराको प्रतीक्षामा छ । याद राख एउटा तार जोडिँदैमा बल्ब बल्दैन । भित्रको जीवनधारालाई जगाऊ र बाह्य जीवन धारालाई भित्र फर्काऊ । बाहिरी–भित्री जीवन ऊर्जालाई त्यहाँसम्म लैजाऊ तेस्रो आँखा खुल्नेछ । जबसम्म दुवै तारलाई जोड्दैनौ तबसम्म बल्ब बल्दैन ।
५. ध्यानपूर्वक सोच तिमी के गर्दैछौ । जे गर्दैछौ त्यसबाट के फाइदा छ । तिमीले गरेको त पशुले पनि गरेकै छ । साँझ–बिहान पूजापाठ, आरती, स्तुती, माला जप । तर के कहिल्यै त्यस ऊर्जा धाराले तिम्रो मनको अँध्यारोलाई प्रकाशित गरेको छ । तिम्रो मनले तिमीलाई मुक्त गरेको छैन र तिमी जहाँको त्यहीँ छौ ।
६. सम्झौता गरेर साधक बाँच्दैन । साधक केही नपाएसम्म अडिँदैन । त्यस प्रकाश केन्द्रले प्रतीक्षा गरिरहेको छ त्यो तार तिमीले नै काटेको हो र तिमीले नै जोड्नुपर्छ । तिम्रो जीवनधाराको त्यो तार कसैको सेवामा लागेको छ । तिमी भने आशीर्वादको प्रतीक्षामा छौ कि कसैले जोडिदिन्छ र बल्ब बल्नेछ । यसरी तिमी हराएका छौ, भट्किएका छौ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट












