काठमाडौं । मिटरब्याज पीडितका स्वास्थ्यमा चिसोको समस्या देखिएको छ । आफ्ना समस्या सरकारलाई सुनाउन महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याजपीडितलाई चिसोको समस्या देखिएको हो ।
वीर अस्पतालको स्वास्थ्यकर्मीको टोलीले गरेको जाँचमा ९ जनामा चिसोको समस्या देखिएको छ । अस्पतालका अनुसार ९ जनामध्ये ५ जना सामान्य उपचारपछि फर्किएको र बाँकी ४ जनालाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएको छ ।
पीडित पक्ष र सरकारी टोलीबीच बिहीबार साँझ ६ बजे बैठक बस्ने तयारी रहेको बताइएको छ । महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका हुन् ।
सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानीमा आएर न्याय मागिरहेका छन् ।













