काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको तस्बिर सहितका मतपत्र तयार गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार नेपालको राष्ट्रपतीय निर्वाचनमा पहिलो पटक यस्तो अभ्यास गरिएको हो ।
फोटो सहितको मतपत्र यसपालि पहिलो पटक अभ्यास गरिएको हो सहायक प्रवक्ता भुसालले बताए । मतदान प्रयोजनका लागि तयार गरिएका नमुना मतपत्र निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। आयोगले ३३४ जना सङ्घीय सांसद र ५५० जना प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र तयार गरेको छ।
प्रतिनिधिसभाको चितवन क्षेत्र नम्बर २ रिक्त रहेको र मनाङका सांसद टेकबहादुर गुरुङ भ्रष्ट्राचार प्रकरणमा निलम्बनमा रहेका कारण दुई जना मतदाता कम हुने छन् । निर्वाचन आयोगले ३३२ जना सङ्घीय सांसदको मात्रै मतदाता नामावलीमा नाम प्रकाशित गरेको छ । प्रदेशका भने ५५० जनाकै नाम मतदाता सूचीमा प्रकाशित भएको छ।
सङ्घ र प्रदेशका सांसदको मतभार फरक हुने भएकाले छुट्टाछुट्टै मतपत्र तयार गरिएको आयोगले जनाएको छ । अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।
सङ्घीय संसद् अन्तर्गतका राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा गुलाबी रङ्गको छ भने प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा हरियो रङ्गले छापिएको छ।
पहिलो कोठामा नेपाली कांग्रेस सहितको गठबन्धनले अघि सारेका नेता रामचन्द्र पौडेलको नाम सहितको मतपत्र र दोस्रो कोठामा नेकपा एमालेले अघि सारेका सुवासचन्द्र नेम्वाङको नामसँगै तस्बिर पनि हुनेछ। निर्वाचन आयोगले मतपत्रमा उम्मेदवारहरूको तस्बिर राख्नुको उद्देश्य कम मत बदर गर्ने उद्देश्य पनि एक भएको बताएको छ।
नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्न फागुन २५ गते १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ।













