काठमाडौं – काठमाडौँ उपत्यकामा संकलित फोहोरबाट बिजुली उत्पादनका लागि ल्याइएको वायोग्यास प्लान्ट झण्डै पाँच वर्षपछि पुनः सञ्चालन हुने भएको छ ।
लामो समयदेखि दक्ष जनशक्ति र उपकरणको अभावले थन्किएका उपकरणको मर्मत सम्भार गरि पुनः सञ्चालनमा ल्याउन लागिएको काठमाडौं महानगरले जनाएको छ । काठमाडौं उपत्यकामा फोहोरको दिर्घकालिन समस्या भइरहेकै बेला व्यवस्थापन गर्नको लागी २०७१ सालमा यूरोपेली युनियनको सहयोगमा यो परियोजना ल्याइएको हो ।
कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने भनेर यो परियोजना ल्याइएको हो । ०७४ सालमा उद्धघाटन भएपछि ३ महिना सञ्चालन भएपछि उपकरणमा समस्या आएको कारण काठमाडौं महानगरको वातावारण विभाग टेकुमा थन्किएको थियो । अहिले मर्मत सम्भार भइरहेको र एक साताभित्रै सञ्चालनमा ल्याउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । मानन्धरका अनुसार यसका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग समेत समन्वय गरिएको छ ।
फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित महानगरपालिकाको २० प्रतिशत र यूरोपेली युनियनको ८० प्रतिशत आर्थिक साझेदारीको यो परियोजनामा झण्डै ६ करोड रुपैँया लगानी छ । ७१ सालदेखी परिक्षणका रुपमा रहेको यो परियोजना ७४ बाट आधिकारीक रुपमा सञ्चालनमा आएको हो ।
यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन कुहिने फोहोर आवश्यक पर्छ । यो प्लान्टबाट दैनिक तीन हजार किलो जैविक मल उत्पादन हुने साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर पानी प्रशोधन गर्न सकिन्छ । लामो समयदेखि बन्द हुँदा करोडौ लगानी खेर जाने जोखिम साथै ऊर्जासम्बन्धी नेपालमा अध्ययनका लागी समस्या भएको थियो । साथै काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनमा समस्या हुदै आएको थियो । यो परियोजनाले यी समस्याको केही समाधान हुने भन्दै निरन्तरता दिनजोड दिइएको छ ।
काठमाडौँमा दैनिक करिब ३५० मेट्रिक टन कुहिने फोहोर निस्किन्छ । तर यस प्लान्टसँग दैनिक तीन मेट्रिकटनको क्षमता छ । यस्तोमा यो परियोजनाको विस्तार गर्न आवश्यक छ । यसबाट मात्र उपत्यकाको फोहर व्यवस्थापन दिगो हुन सक्छ ।













