प्रायःजसो महिलाको अनुहार घाममा काम गर्ने वा हिँडडुल गर्नुपर्ने भएकोले कालो बन्दछ । महिलाको छालाको स्वाभाविक रङ्ग प्राप्त गर्नका लािग अङ्गुर, आलुको रस, कागतीको रस आदिको प्रयोग गर्नुपर्दछ ।
यो सबै प्रकारको तैलीय छालाका लागि अधिक प्रभावशाली छ । यदि छाला पहिलेदेखि नै शुष्क छ भने यसको प्रयोग गरे पश्चात् कुनै पौष्टिक क्रिम अवश्य लगाउनुपर्दछ । शुष्क छालाका लागि दूध अत्यन्तै लाभदायक छ र त्यसले ब्लिच पनि गर्दछ ।
१ कप दूधमा आधा कागतीको रस मिलाउनुहोस् र फेरि दूधलाई राम्री अनुहारमा लगाउनुहोस् । सुकेपछि तातोपानीले अनुहार धुनुहोस् । केही दिनको प्रयोगमै अनुहार सफा भएर सुन्दर बन्दछ ।
जबसम्म तपाईंको अनुहार पूर्णतः सफा हुँदैन तबसम्म त्यसमा कुनै पनि किसिमको मेकअपले प्रभाव पार्दैन । अनुहार सफा गर्ने हो भने राम्रो साबुनले आफ्नो अनुहार धुनुहोस् अनि नाक वा चिउँडोलाई हातले हल्का रगडेर सफा गर्नुहोस् । तैलीय छाला भएका महिलाले दिनमा केही पटक अनुहार धुनु पर्दछ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग बाँकी नरहोस् । शुष्क छाला भएका महिलाले साबुनको प्रयोग नगर्नु नै राम्रो हुन्छ । यिनले क्लिजिङ लोसनको प्रयोग गर्नुपर्दछ ।
बाफद्वारा पनि अनुहार वास गर्न सकिन्छ । तैलीय छाला भएकी युवती वा महिला ४–४ दिनमा वाफ लिँदा उपयोगी हुन्छ तथा शुष्क छाला हुनेले हप्तामा १ पटक बाफ लिने क्रिया गर्नुपर्दछ । बाफ लिने क्रियाले अनुहारको छाला भित्रैदेखि सफा बन्दछ तथा धुलो आदिलाई पनि सफा गर्दछ । बाफले अनुहारको छालामा पसिना आउँदछ र यसले डन्डीफोरको समस्यालाई पनि हटाउँछ । कोमल छाला भएका महिलाले बाफको प्रयोग नगर्नु नै जाति हुन्छ ।
साभारः ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट













