काठमाडौँ, १० मङ्सिरः धुवाँ आकाशमा विलीन हुँदै थियो, तर मलामीहरूको मनमा घर फर्किने, विदेश जाने र आफ्नो कर्ममा लाग्ने हतार थियो। जीवनको अन्तिम सत्य अगाडि उभिएर पनि हामी कति असंवेदनशील बन्दै गइरहेका छौँ ?
जिन्दगीभर दुःख गरेर जोडेको सम्पत्ति, बनाएको घर, सजाएको सपना र परिवारको भविष्यका लागि कमाएको धन सबै पछाडि छोडेर मानिस चितामा पुग्छ। जीवनभर अरूका लागि बाँच्ने मानिसको अन्तिम यात्रा केही घण्टामै धुवाँ र खरानीमा परिणत हुन्छ ।
चितामा आगो सल्किँदै गर्दा मलामीहरूबीच पनि १३ दिनको कर्म कहिले सकिन्छ, कहिले आफ्नो काममा फर्किने, कहिले विदेश जाने भन्ने हिसाब चलिरहेको हुन्छ। कसैलाई आफ्नो रोजगारीले तानिरहेको छ, कसैलाई छोराछोरीको भविष्यको चिन्ताले, कसैलाई अधुरा जिम्मेवारीले ।
तर त्यो चितामा जलिरहेको शरीर पनि कुनै समय कसैको संसार थियो। कसैको बाबु, कसैको आमा, कसैको श्रीमान्, कसैको श्रीमती, कसैको साथी र कसैको भरोसा थियो। उसले पनि जीवनभर सपना देखेको थियो, दुःख गरेको थियो, भोलिको आशा राखेको थियो ।
आज उसको शरीर धुवाँ र खरानीमा विलीन हुँदै गर्दा हामीलाई फर्किन हतार छ ।
खोलाको पानी तल बग्दै गएझैँ माया, आत्मीयता र संवेदना पनि कतै तल बग्दै गएको हो कि? आफ्नै प्रियजनको अन्तिम यात्रामा उपस्थित भएर पनि मनमा समयको हिसाब राख्ने हामी, आखिर कुन गन्तव्यमा पुग्न खोजिरहेका छौँ ?
आज अरूको चितामा उभिएर फर्किने समय गन्दैछौँ। भोलि हाम्रो चितामा पनि कोही उभिएर आफ्नो समय गन्नेछ। यो सत्य बुझ्न किन यति कठिन भइरहेको छ ?
जीवन छोटो छ। सम्पत्ति कमाउन, संसार घुम्न, प्रतिष्ठा बनाउन र भविष्य सजाउन दौडिरहेका हामीले कहिलेकाहीँ आफैँलाई सोध्नुपर्छ आखिर यो दौडको अन्तिम गन्तव्य कहाँ हो ?
अन्ततः सबैले एउटै बाटो हिँड्नुपर्ने हो। न सम्पत्ति साथमा जान्छ, न पद, न प्रतिष्ठा। साथमा जाने भनेको हामीले बाँडेको माया, दिएको सम्मान र कसैको मनमा छोडेको सम्झना मात्रै हो ।
मृत्युले मानिसलाई एक दिन अवश्य बोलाउछ , तर त्यो दिन आउनुअघि जीवनको हतारमा हामीले मानवीयता, माया र संवेदना गुमाइसकेका त छैनौँ ?




















