सुर्खेत। बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् ।
दसौँ राष्ट्रिय खेलकुदलाई भव्यतापूर्वक सफल बनाउन सिङ्गो कर्णाली प्रदेश सरकार व्यवस्थापनमा जुटेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही विभिन्न बैठकमा सहभागी हुने, छलफल गर्ने र प्रतियोगितालाई व्यवस्थित बनाउने ध्याउन्नमा केन्द्रित हुनुभएको छ ।
प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेत आउने अतिथि, खेलाडी, प्रशिक्षक, अफिसियल, दर्शकलगायत खेलप्रेमीको स्वागतार्थ विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगरका बजार क्षेत्रमा दसौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि माइकिङ भइरहेको छ ।
घरेलु खेलकुद सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन् । यतिबेला खेलकुदको ‘महाकुम्भ’ दसौँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षा सुरु भएको छ । राष्ट्रिय खेलकुद नवौँ संस्करण यसअघि २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो ।
प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेडाली स्वदेश फर्कन थालेका छन् । कतिपय खेलाडी बन्द प्रक्षिणमा जुटिसकेका छन् । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन् ।
सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने लुम्बिनी प्रदेशको नेपालगन्ज र बर्दिया तथा कर्णालीको सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन् ।
कर्णालीका मुख्यमन्त्री शाही प्रतियोगिताका लागि पूर्वाधार निर्माण सम्पन्न भइसकेको र खेलका लागि तयारी अवस्थामा रहेको बताउनुहुन्छ । “पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयारी भइसकेका छन्, कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्”, मुख्यमन्त्री शाहीले रासससँग भन्नुभयो ।
मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीको बैठकले प्रतियोगितामा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा तैनाथी बढाउने र सिसीटिभी क्यामेराबाट निगरानी गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सुरक्षार्थ दुई हजार सुरक्षाकर्मी खटिनेछन् ।
प्रतियोगितास्थल, मुख्य चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिएका छन् । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीलाई आवासको अप्ठ्यारो भोग्नु नपरोस् भनेर होटलमा पर्याप्त कोठाको व्यवस्था गरिएको छ ।
प्रतियोगितालाई व्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिङ्गो टोली सुर्खेतमा खटिएको छ । विभिन्न उपसमिति निर्माण गरेर तयारीका कामलाई तीव्र पारिएको दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले जानकारी दिनुभयो ।
यसअघि २०३८ सालमा काठमाडौँमा पहिलो, २०४० सालमा पोखरामा दोस्रो, २०४२ सालमा वीरगन्जमा तेस्रो, २०५५ सालमा नेपालगन्जमा चौथो, २०६५ मा काठमाडौँमा पाँचौँ, २०६८ मा सुदूरपश्चिममा छैटौँ, २०७३ मा पूर्वाञ्चलमा सातौँ र २०७५/७६ मा लुम्बिनीमा आठौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।
एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । राखेपका अनुसार ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको औपचारिक उद्घाटनअगावै कतिपय खेल सञ्चालन हुने संयोजक खम्बुले जानकारी दिनुभयो । प्रतियोगिता उद्घाटनअघि विभिन्न १० खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोलीको सहभागिता रहने छ । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ ‘इभेन्ट्स’ समावेश छन् ।
प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् । राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । जसमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले रु २० हजार, रजतले रु १५ हजार र कास्य विजेताले रु आठ हजार पाउनेछन् ।
त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहनेछन् । त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ ।
चार खेल लुम्बिनीमा
प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन् । ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापन भइसकेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।
नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाको भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल हुनेछ । दसौँ राष्ट्रिय खेलकुदको समापन भने यही मङ्सिर २७ गते सुर्खेतमा हुनेछ ।


















