काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रतिशोधका आधारमा आफू वा पार्टीका नेता–कार्यकर्तालाई पक्राउ गर्न खोजे देशभरबाट लाखौँ कार्यकर्ता सडकमा उतार्ने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै एमाले अब कुनै पनि प्रकारको दमन सहेर चुप नबस्ने बताएका हुन् ।
उनले आफू पक्राउ पर्दा विगतमा हजारौँ कार्यकर्ता सडकमा उत्रिएको स्मरण गर्दै आगामी दिनमा प्रतिशोध साँध्ने प्रयास भए देशभरका लाखौँ कार्यकर्ता सडकमा आउने दाबी गरे । आफ्नो गिरफ्तारीको विरोधमा कार्यकर्ता सडकमा उत्रिएको विषयलाई सरकारले वैरभावका रूपमा लिनु गलत भएको उनको भनाइ थियो ।
‘आइन्दा हाम्रो कार्यकर्ता पङ्क्तिलाई त्यस ढङ्गको व्यवहार गर्न खोजियो भने त्यसको मूल्य धेरै महँगो पर्नेछ,’ ओलीले चेतावनी दिए ।
सम्बोधनका क्रममा ओलीले अदालतको भूमिकामाथि पनि प्रश्न उठाए । प्रतिनिधिसभासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहे पनि फैसला हुन नसकेको भन्दै उनले अदालतले प्रतिनिधिसभालाई संवैधानिक निकायका रूपमा व्यवहार नगरेको आरोप लगाए ।
उनले विगतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आफूअनुकूल फैसला भएको देखे पनि अदालतका निर्णय आफूहरूले स्वीकार गर्दै आएको बताए ।
ओलीले एमाले पुनः सरकारमा फर्किने दाबीसमेत गरे । ‘एमाले फेरि सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले,’ उनले भने । समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई निरन्तरता दिँदै विकास निर्माणका काम अघि बढाउने उनको भनाइ थियो ।
यसैगरी, ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरे ।
‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, शेरबहादुरलाई थुन्दिन्छु, प्रचण्डलाई थुन्दिन्छु रे ! केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ?’ उनले प्रश्न गरे ।
राणा शासन, पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आफूहरू राजनीतिमा आएको उल्लेख गर्दै ओलीले यस्ता अभिव्यक्तिले आफूहरू नतर्सिने बताए । यद्यपि, कानुनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै गलत काम गरेको प्रमाण भेटिए प्रहरी महानिरीक्षकसमेत कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ थियो ।
बालेन शाह नेतृत्वको सरकारप्रति पनि ओलीले असन्तुष्टि व्यक्त गरे । सरकार जनताप्रति उत्तरदायी हुन नसकेको र विकास निर्माणका लागि छुट्याइएको ठूलो रकम खर्च हुन नसकेको उनको आरोप थियो । सरकारको कार्यशैलीका कारण पीडित नागरिक थप समस्यामा परेको उनले बताए ।
जेनजी विद्रोहको बहानामा तालिमप्राप्त अपराधी परिचालन गरेर देशमा वितण्डा मच्चाउने काम भएको दाबी गर्दै ओलीले एमाले संघर्ष र जनताको समर्थनबाट स्थापित पार्टी भएकाले कसैको दबाब र कृपाबाट कमजोर नहुने बताए ।
उनले एमाले फेरि सिंहदरबार प्रवेश गरेर देश निर्माणको नेतृत्व गर्ने दाबी गर्दै पार्टीको राजनीतिक भविष्यबारे कसैले भ्रम पाल्न नहुने बताएका छन् ।




















