काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै अन्तरद्वन्द्व नरहेको स्पष्ट पार्दै सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनु पार्टीको नीति रहेको बताएका छन्। बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकार र पार्टीको कार्यक्षेत्र स्पष्ट रहेको उल्लेख गर्दै सरकारका कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने बताएका हुन्। उनका अनुसार पार्टी र सरकारबीच नियमित संवाद तथा समन्वय भइरहेको छ। कुनै विषयमा प्रश्न, जिज्ञासा वा स्पष्टता आवश्यक परे आपसी छलफलमार्फत समाधान खोज्ने गरिएको उनले बताए। ‘सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता छ। कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा रहे वा स्पष्टता चाहिए हामी बसेर कुराकानी गर्छौं,’ लामिछानेले भने।
सरकारलाई पार्टीको राजनीतिक अस्तित्व र आन्तरिक एकता जोगाउने माध्यमका रूपमा प्रयोग गर्ने अभ्यास आफूहरूको प्राथमिकतामा नरहेको उनको भनाइ छ। प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई शक्तिकेन्द्रका रूपमा राखेर सरकार सञ्चालन गर्ने परिपाटीको पक्षमा आफूहरू नरहेको उनले स्पष्ट पारे। ‘सरकारलाई मज्जाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने। लामिछानेले पार्टी र सरकारबीच समन्वयको कमी नरहेको दाबी गर्दै दुवै पक्षले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए। नियमित भेटघाट र छलफल भइरहेकाले बाहिर देखाइएजस्तो टकरावको अवस्था नरहेको उनको भनाइ छ।
रास्वपा सभापति लामिछानेले राज्यका संस्थाहरूलाई विश्वास गर्दै अझ सुदृढ बनाउनुपर्ने धारणा पनि राखेका छन्। कुनै संस्थाबाट गल्ती भए त्यसलाई सच्याउने जिम्मेवारी सम्बन्धित संस्थागत संरचनाकै हुने उल्लेख गर्दै उनले प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायलाई बलियो बनाउनुपर्ने बताए। उनका अनुसार सरकार विधिको शासनअनुसार सञ्चालन हुनुपर्छ र शासन प्रणालीमा परिपक्वता देखिनुपर्छ। राज्यका निकायहरूलाई राजनीतिक प्रभावभन्दा बाहिर राखेर जिम्मेवार बनाउनु आवश्यक रहेको उनको भनाइ छ।
सरकारले आफ्ना कामकारबाहीमा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै लामिछानेले पार्टीले सरकारलाई काम गर्न दिने तर आवश्यक विषयमा संवाद र सुझाव जारी राख्ने संकेत गरेका छन्। उनको अभिव्यक्तिले सरकार र पार्टीबीच कार्यक्षेत्रको स्पष्ट विभाजन कायम राख्दै समन्वयमार्फत अघि बढ्ने रास्वपाको नीति रहेको सन्देश दिएको छ।



















