काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख (Chargé d’Affaires, a.i.) मेगन बोल्डिनले शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेकी छन्।
भेटका क्रममा नेपाल–अमेरिका शैक्षिक सहकार्य, शैक्षिक आदानप्रदान कार्यक्रम तथा खेलकुद कूटनीतिका सम्भावनाबारे छलफल भएको छ।
बोल्डिनले फुलब्राइटसहित विभिन्न अमेरिकी शैक्षिक आदानप्रदान कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका नेपालीहरूको योगदानको चर्चा गर्दै उनीहरूले अमेरिकी शैक्षिक उत्कृष्टता, ज्ञान र अनुभवलाई नेपालको शैक्षिक क्षेत्रमा उपयोग गर्न पुर्याएको योगदानलाई महत्त्व दिएकी थिइन्।
त्यसैगरी, सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ओलम्पिक तथा पारालिम्पिक खेलकुदलाई लक्षित गर्दै नेपालका खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धिका विषयमा पनि छलफल भएको छ।
छलफलमा खेलाडी प्रशिक्षण, खेलकुद प्रतिभा विकास तथा खेल व्यवस्थापनमा अमेरिकी अनुभव र विशेषज्ञता नेपाली खेलाडी तथा प्रशिक्षकसम्म पुर्याउने सम्भावनाबारे विचार आदानप्रदान गरिएको अमेरिकी दूतावासले जनाएको छ।
यस भेटलाई नेपाल–अमेरिका शैक्षिक सम्बन्ध विस्तार तथा खेलकुदमार्फत दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।




















