विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्डमध्ये एक बालोन डी’ओर अहिले खेलाडीको उत्कृष्टता मापन गर्ने सम्मानमा मात्र सीमित छैन।
यो खेलाडीको प्रतिष्ठा, बजार मूल्य, क्लबको छवि र समर्थकबीचको बहससँग जोडिएको ठूलो अन्तर्राष्ट्रिय समारोह बनेको छ।
सन् १९५६ मा पहिलोपटक प्रदान गरिएको बालोन डी’ओरको यात्रा अहिलेको भव्य समारोहसम्म आइपुग्दा निकै परिवर्तन भएको छ।
सुरुवाती समयमा सामान्य कार्यक्रममार्फत विजेता घोषणा गरिने यो अवार्ड अहिले रेड कार्पेट, विश्वप्रसिद्ध खेलाडी, प्रशिक्षक, सञ्चारमाध्यम र हजारौँ पाहुना सहभागी हुने समारोह बनेको छ।
चर्चित खेल पत्रकार मार्क डोयलको विश्लेषणअनुसार बालोन डी’ओरको लोकप्रियता बढ्नुमा आयोजकको प्रयासभन्दा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको लामो प्रतिस्पर्धाको भूमिका सबैभन्दा महत्त्वपूर्ण बनेको छ।
सामान्य समारोहबाट भव्य
सन् १९५६ मा इंग्ल्यान्डका स्ट्यान्ली म्याथ्युजले पहिलो बालोन डी’ओर जित्दा ब्ल्याकपुलको टाउन हलमा आयोजित सामान्य समारोहमा उनलाई अवार्ड प्रदान गरिएको थियो।
तर अहिले विजेताको घोषणा लन्डनस्थित लन्डन प्यालाडियमजस्तो भव्य स्थलमा रातो कार्पेटसहितको समारोहमा गरिन्छ।
बालोन डी’ओरको सुरुवात युरोपमा खेल्ने उत्कृष्ट फुटबलरलाई सम्मान गर्ने उद्देश्यले भएको थियो। फ्रान्सेली फुटबल पत्रिका ‘फ्रान्स फुटबल’ ले सन् १९५० को दशकमा यो अवार्ड सुरु गरेको थियो।
सुरुमा युरोपेली खेलाडीमा सीमित रहेको अवार्ड सन् १९९५ देखि युरोपका क्लबमा व्यावसायिक फुटबल खेल्ने सबै राष्ट्रियताका खेलाडीका लागि खुला गरियो। सन् २००७ देखि भने विश्वभरका खेलाडी यसका लागि योग्य भए।
महिला खेलाडीका लागि सन् २०१८ देखि बालोन डी’ओर प्रदान गर्न थालियो।
तर यो अवार्डको इतिहासमा पेले, ग्यारिन्चा र डिएगो म्याराडोनाजस्ता महान् खेलाडीको नाम विजेताका रूपमा नदेखिनुको कारण यसको प्रारम्भिक योग्यतासम्बन्धी सीमितता हो। उनीहरू आफ्नो उत्कृष्ट समयमा अवार्डका लागि योग्य थिएनन्।

मेस्सी र रोनाल्डोले बदले महत्त्व
बालोन डी’ओरलाई विश्व फुटबलको सबैभन्दा चर्चित व्यक्तिगत सम्मान बनाउन लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धाले निर्णायक भूमिका खेलेको छ।
दुवै खेलाडी एकै समयमा विश्व फुटबलको उच्चतम स्तरमा उदाए। उनीहरूको प्रदर्शन, गोलसंख्या, उपाधि र व्यक्तिगत उपलब्धिबीच तुलना गर्ने क्रमले समर्थकलाई वर्षौँसम्म आकर्षित गर्यो।
मेस्सी र रोनाल्डोका समर्थकबीच को उत्कृष्ट भन्ने बहस मैदानमा मात्रै सीमित रहेन। बालोन डी’ओरको नतिजा पनि उनीहरूको प्रतिस्पर्धा मापन गर्ने माध्यम बन्यो।
सन् २००७ देखि २०१७ सम्मको अवधिमा यी दुई खेलाडीले अवार्डको प्रतिस्पर्धामा वर्चस्व कायम गरे। फ्रान्स फुटबलका पूर्वनिर्देशक पास्कल फेरेले पनि उनीहरूबीचको प्रतिस्पर्धाबाट आयोजकले ठूलो लाभ लिएको स्वीकार गरेका थिए।
यसले बालोन डी’ओरलाई सामान्य व्यक्तिगत सम्मानबाट विश्वभरका फुटबल समर्थकले चासो दिने वार्षिक घटनामा रूपान्तरण गर्यो।
यद्यपि, अवार्डको नतिजा सधैँ निर्विवाद भने रहेन। विभिन्न वर्षमा कसले जित्नुपर्ने थियो भन्ने बहस चलिरह्यो। समर्थक र विश्लेषकले खेलाडीको व्यक्तिगत प्रदर्शन, टोलीले जितेका उपाधि र निर्णायक खेलमा देखाएको क्षमताका आधारमा फरकफरक धारणा राख्दै आएका छन्।
व्यापारिक महत्त्व
बालोन डी’ओर अहिले खेलाडीको व्यक्तिगत प्रतिष्ठासँगै व्यापारिक मूल्य बढाउने माध्यम पनि बनेको छ।
अवार्ड जित्ने खेलाडीको विश्वव्यापी पहिचान बढ्छ। प्रायोजन, विज्ञापन र व्यावसायिक अवसरमा त्यसको प्रभाव पर्न सक्छ। यही कारण क्लबहरूले आफ्ना खेलाडीलाई अवार्डका बलिया दाबेदारका रूपमा प्रस्तुत गर्ने गरेका छन्।
अहिले बालोन डी’ओर समारोहको स्वरूप हलिउडको ओस्कार अवार्डसँग तुलना गर्न सकिन्छ। ओस्कार जित्दा कलाकारको व्यावसायिक मूल्य बढेझैँ बालोन डी’ओर जित्दा फुटबलरको बजार मूल्य र प्रतिष्ठा बढ्ने गर्छ।
सन् २०२६ को समारोहमा दुई हजारभन्दा बढी पाहुना सहभागी हुने र विश्वभरका सञ्चारमाध्यमले त्यसको समाचार प्रसारण गर्ने लेखमा उल्लेख छ।
अवार्डको बढ्दो व्यावसायिक महत्त्वले क्लबहरूलाई आफ्ना खेलाडीको प्रचारमा थप सक्रिय बनाएको छ।
चलचित्र उद्योगमा स्टुडियोहरूले आफ्ना कलाकारलाई पुरस्कारका लागि अघि सारेझैँ फुटबल क्लबहरूले पनि आफ्ना खेलाडीको पक्षमा सार्वजनिक समर्थन जुटाउने गरेका छन्।
रियल म्याड्रिडको बहिष्कार
बालोन डी’ओरको नतिजाले क्लब र खेलाडीबीच विवादसमेत सिर्जना गर्ने गरेको छ।
सन् २०२४ मा रियल म्याड्रिडले रोड्रीलाई पुरुषतर्फको बालोन डी’ओर प्रदान गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै समारोह बहिष्कार गरेको थियो। क्लबले आफ्ना खेलाडी भिनिसियस जुनियरले अवार्ड जित्ने अपेक्षा गरेको थियो।
यस घटनाले बालोन डी’ओरको नतिजा खेलाडीको व्यक्तिगत उपलब्धिको विषयमा मात्रै सीमित नरहेको देखाएको थियो। अवार्डले क्लबको प्रतिष्ठा र समर्थकको भावनालाई समेत प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

खेलाडी आफैँ प्रचार अभियानमा
बालोन डी’ओर जित्ने सम्भावना बढाउन खेलाडी र क्लबले सार्वजनिक रूपमा आफ्नो पक्ष प्रस्तुत गर्ने क्रम पनि बढेको छ।
सन् २०२६ को प्रतिस्पर्धामा किलियन एम्बाप्पे र लामिन यमालजस्ता खेलाडीले आफ्नो उपलब्धिबारे सार्वजनिक रूपमा बोलेका थिए। क्लबहरूले पनि आफ्ना खेलाडीको पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए।
तर फ्रान्स फुटबलका पूर्वनिर्देशक पास्कल फेरेका अनुसार अत्यधिक प्रचारले मतदातालाई प्रभावित पार्ने सुनिश्चित हुँदैन। बरु धेरै प्रचार गर्दा केही मतदाता असन्तुष्ट हुन सक्ने उनको भनाइ थियो।
पूर्वआर्सनल प्रशिक्षक आर्सेन वेङ्गरले पनि व्यक्तिगत अवार्डप्रतिको अत्यधिक मोहले खेलाडीलाई टोलीको हितभन्दा व्यक्तिगत उपलब्धिमा केन्द्रित गराउन सक्ने चेतावनी दिएका थिए।
जोसे मोरिन्होले पनि फुटबलमा सामूहिक खेलको अवधारणा कमजोर हुँदै गएको भन्दै व्यक्तिगत उपलब्धिलाई दिइने प्राथमिकतामाथि प्रश्न उठाएका थिए।
महिला फुटबलले पनि बढायो भव्यता
सन् २०१८ देखि महिला बालोन डी’ओर सुरु भएपछि समारोहको दायरा अझ फराकिलो भएको छ। पुरुष फुटबलका उत्कृष्ट खेलाडीसँगै महिला फुटबलका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि एउटै समारोहमा सम्मान गर्ने परम्पराले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको छ।
यसले विभिन्न क्लबका पुरुष र महिला टोलीका खेलाडीलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ। पछिल्ला वर्षमा अन्य विधाका पुरस्कार थपिँदै जाँदा बालोन डी’ओर समारोह विश्व फुटबलकै सबैभन्दा ठूलो वार्षिक जमघटमध्ये एक बनेको छ।
सन् २०२६ को समारोह लन्डनमा आयोजना गर्नुको उद्देश्य पहिलो बालोन डी’ओर विजेता स्ट्यान्ली म्याथ्युजलाई सम्मान गरिएको ७० वर्ष पूरा भएको अवसर मनाउनु पनि हो। आयोजकका अनुसार पेरिसबाहिर आयोजना गरिएको यो समारोह विशेष वर्षका लागि गरिएको परिवर्तन हो।
तर लन्डनमा आयोजना गर्दा फुटबलबाहिरका चर्चित व्यक्तित्वलाई समेत आकर्षित गर्न सकिने भएकाले भविष्यमा समारोहको स्थायी स्थान परिवर्तन हुन सक्ने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ।
बालोन डी’ओरको लोकप्रियता केवल उत्कृष्ट खेलाडी छनोट गर्ने प्रक्रियाका कारण बढेको होइन। मेस्सी र रोनाल्डोबीचको ऐतिहासिक प्रतिस्पर्धा, विश्वव्यापी सञ्चारमाध्यमको विस्तार, क्लबहरूको प्रचार रणनीति र खेलाडीको बढ्दो बजार मूल्यले यसलाई फुटबलको सबैभन्दा चर्चित व्यक्तिगत सम्मानमध्ये एक बनाएका छन्।
तर यसको लोकप्रियतासँगै एउटा आधारभूत प्रश्न पनि कायम छ: बालोन डी’ओरले विश्वकै सर्वश्रेष्ठ खेलाडी छान्छ कि सम्बन्धित सिजनमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गर्छ?
यही बहसले प्रत्येक वर्ष अवार्डको चर्चा बढाउँछ। र, यही कारण बालोन डी’ओर अहिले फुटबलको मैदानबाट बाहिर निस्केर विश्वव्यापी मनोरञ्जन, प्रतिष्ठा र व्यापारसँग जोडिएको भव्य समारोह बनेको छ।




















