रसुवाको स्याफ्रुबेँसीमा सवारीसाधन आवतजावत गर्न सक्ने बेलिब्रिज निर्माण तीव्र गतिमा अघि बढेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा निर्माण कार्यलाई गति दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले शनिबार स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण कार्यको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि उक्त स्थानमा नयाँ बेलिब्रिज जडान गर्न जग निर्माण सुरु भइसकेको छ ।
बेलिब्रिज जडान आगामी तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यसहित चौबिसै घण्टा काम भइरहेको जनाइएको छ ।
यसैगरी, बाढीका कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी–बृद्धिम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्ठा (स्टिल केबल) तथा आवश्यक सामग्री उपलब्ध गराएको छ ।
सामग्री उपलब्ध भएसँगै स्थानीय बासिन्दाको आवतजावत सहज बनाउन फड्के पुल निर्माणको काम पनि सँगसँगै अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




















