नेपालगञ्ज । नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिने भएको छ ।
सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत नेपालगञ्ज रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्न लागेको हो ।
फ्लडलाइट जडान भएपछि रातिको समयमा समेत खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने र यसले खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले नेपालगञ्जको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताए ।
‘यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘यसले खेलकुदको दायरा विस्तार गर्नुका साथै नेपालगञ्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्नसमेत सहयोग पुर्याउनेछ ।’
आधुनिक पूर्वाधार विस्तारसँगै फ्लडलाइट जडान भएपछि खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुने सरोकारवालाको भनाइ छ । साथै, फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह र पानी निकासलगायतका पक्षमा सुधार गर्नुपर्ने बताए ।
रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्ने र त्यसबाट मर्मतसम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।
नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच यसै साता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो ।
सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत निश्चित खेलकुद पूर्वाधारमा २५ करोड रुपैयाँसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मतसम्भारका काम गर्ने लक्ष्य राखिएको छ ।
नेपालगञ्ज रङ्गशालालाई लामो समयदेखि आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने माग हुँदै आएको थियो ।













