काठमाडौँ। भोटेकोशी बाढीपीडितका लागि विभिन्न संस्था, स्थानीय तह, विद्यालय तथा सर्वसाधारणबाट राहत रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने क्रम बढेको छ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीपीडितका लागि रु ९१ लाख ८४ हजार ६९५ राहत रकम कोषमा दाखिला गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत उक्त रकम कोषमा जम्मा गरेको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिए।
यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले रु ७५ लाख ५३ हजार ९४७ सङ्कलन गरी कोषमा दाखिला गरेको छ। प्याब्सनमा आबद्ध १३९ विद्यालयमार्फत उक्त रकम सङ्कलन गरिएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए।
बाराको कलैया उपमहानगरपालिकाले पनि भोटेकोशी बाढीपीडितका लागि रु ७७ लाख ७७ हजार ७७७ राहत रकम कोषमा जम्मा गरेको छ। पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीबाट रकम सङ्कलन गरिएको नगरप्रमुख विनोदप्रसाद साहले जानकारी दिए।
त्यस्तै, बाँकेका निजी विद्यालय तथा विद्यार्थीले सङ्कलन गरेको रु ६५ लाख बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विद्यार्थीले नियमित खाजा खर्चबाट बचत गरेको रकमसमेत राहतका लागि सङ्कलन गरिएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रमसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने रकम पनि बढ्दै गएको छ।













