काठमाडौं । अमेरिकी सेनाले इरानी कच्चा तेल बोकेका पाँचवटा ट्यांकरमाथि आक्रमण गरेको छ। आफ्ना नौसैनिक पानीजहाजलाई लक्षित गरी इरानले दुई दिनमा दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको प्रयास गरेको भन्दै अमेरिकाले जवाफी कारबाही गरेको हो।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार नेपाली समयअनुसार बुधबार बिहान गरिएको कारबाहीमा चारवटा ट्यांकर ओमानको खाडी र एउटा ट्यांकर फारसको खाडीस्थित खार्ग टापुनजिकै निशाना बनाइएको सीएनएनले जनाएको छ।
सेन्टकमले अमेरिकी नौसैनिक पानीजहाजमाथि इरानले गरेको दुवै आक्रमण प्रयास असफल भएको जनाएको छ। अमेरिकी जहाजहरूले क्षेत्रीय समुद्री क्षेत्रमा गस्ती जारी राखेको र घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको अमेरिकी पक्षको दाबी छ।
अमेरिकी सेनाले ट्यांकरमाथि कारबाही गर्नुअघि जहाजमा रहेका चालक दललाई बाहिरिन निर्देशन दिएको जनाएको छ।
अमेरिका–इरानबीच जारी सैन्य तनावका क्रममा होर्मुज जलमार्ग आसपासको क्षेत्रमा अमेरिकाले दबाब बढाइरहेका बेला पछिल्लो कारबाही भएको हो। अमेरिकाले व्यावसायिक जहाजलाई रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग पार गराउन सुरक्षा प्रदान गर्नुका साथै इरानी बन्दरगाहमाथि नौसैनिक नाकाबन्दी कायम राखेको छ। अमेरिकी प्रशासनले आफ्नो रणनीतिलाई इरानी शासनमाथि आर्थिक दबाब बढाउने ‘फुल कोर्ट प्रेस’ अभियानका रूपमा प्रस्तुत गरेको छ।
अमेरिकाले इरानी तेल ट्यांकरमाथि कारबाही गरेपछि इरानले पनि जवाफी आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इरानले जोर्डनस्थित मुवाफ्फाक सल्ती एयर बेसलाई मुख्य लक्ष्य बनाएको बताएको छ। उक्त सैन्य आधार अमेरिकी सेनाले समेत प्रयोग गर्दै आएको छ।
जोर्डनको सेनाका अनुसार इरानबाट प्रहार गरिएका २० वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १८ वटा हवाई प्रतिरक्षा प्रणालीमार्फत आकाशमै नष्ट गरिएका थिए। बाँकी दुई क्षेप्यास्त्र मानव बस्ती नभएको क्षेत्रमा खसेको र घटनामा कुनै मानवीय क्षति नभएको जोर्डनले जनाएको छ।
इरानले अमेरिकी युद्धपोतलाई लक्षित गर्दै थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ। बहराइन र कुवेतका बन्दरगाहनजिक रहेका तेल ट्यांकरलाई समेत निशाना बनाउने धम्की इरानले दिएको बताइएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमणको प्रयास नगर्न चेतावनी दिएका छन्। कोलम्बियाको भ्रमणका क्रममा बारान्कियामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजलाई निरन्तर निशाना बनाउन खोजिरहेको दाबी गरे। यस्तो प्रयास जारी रहे प्रत्येकपटक इरानले तेल ट्यांकर गुमाउने उनको चेतावनी थियो।
यसअघि सप्ताहन्तमा पनि अमेरिकी सेनाले तीनवटा इरानी कच्चा तेल बोकेका ट्यांकरमाथि कारबाही गरेको थियो। त्यसअघि आईआरजीसीले अमेरिकी विमानवाहक पोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्न सक्ने अमेरिकी विध्वंसक युद्धपोतलाई लक्षित गरी आक्रमणको प्रयास गरेको अमेरिकी पक्षको दाबी थियो।
पछिल्लो घटनासँगै केही दिनको अवधिमा अमेरिकी सेनाले इरानी तेल ढुवानीमा संलग्न कम्तीमा आठवटा ट्यांकरमाथि कारबाही गरेको अमेरिकी पक्षले जनाएको छ। तेल ट्यांकरमाथिको सैन्य कारबाहीसँगै अमेरिकी ट्रम्प प्रशासनले मंगलबार इरानको विमान उद्योगमाथि पनि थप प्रतिबन्ध घोषणा गरेको छ। नयाँ प्रतिबन्धबाट २७ इरानी एयरलाइन्स तथा नौ सेवा प्रदायक र बिक्री एजेन्ट प्रभावित भएका छन्।
उनीहरूमाथि सन् २०११ देखि अमेरिकी प्रतिबन्धमा रहेको इरानी निजी विमान कम्पनी महान एयरलाई सेवा तथा सहयोग उपलब्ध गराएको आरोप लगाइएको छ।
अमेरिका–इरानबीचको पछिल्लो सैन्य तनावको असर विश्व तेल बजारमा समेत परेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गरेपछि बुधबार प्रारम्भिक कारोबारमा तेलको मूल्य लगातार चौथो दिन बढेको हो।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य १.५७ डलर अर्थात् १.६ प्रतिशतले बढेर प्रतिब्यारेल ९९.४९ डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य १.६० डलर अर्थात् १.७२ प्रतिशतले बढेर प्रतिब्यारेल ९४.६३ डलर पुगेको छ।
अगस्टको सुरुदेखि ब्रेन्ट कच्चा तेलको मूल्य करिब २५ प्रतिशतले बढिसकेको छ। युद्ध दीर्घकालीन रूपमा समाधान हुने सम्भावना कमजोर बन्दै जानु तथा सैन्य गतिविधि पुनः तीव्र हुनुले विश्व बजारमा आपूर्ति अवरोधको चिन्ता बढाएको छ।
यद्यपि पछिल्लो तनावका बाबजुद ब्रेन्ट कच्चा तेलको मूल्य अहिलेसम्म प्रतिब्यारेल १०० डलरभन्दा माथि स्थायी रूपमा पुगेको छैन। अमेरिका–इरान द्वन्द्वका कारण विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग प्रभावित भएको छ। रेड सी क्षेत्रमा समेत तेल ढुवानीमा अवरोध देखिँदा विश्व ऊर्जा आपूर्तिमाथि थप दबाब पर्ने चिन्ता बढेको छ।












