चितवन। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको चहलपहल घटेसँगै होटल तथा रेष्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। भोटेकोशी बाढी र त्यसपछि सडक सञ्जालमा आएको अवरोधका कारण विदेशी तथा स्वदेशी पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेपछि सौराहाका होटल सुनसान बनेका हुन्।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको ७५ कोठाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार एउटै कोठा पनि भरिएन। सामान्य अवस्थामा यस समयमा होटलको करिब ६० प्रतिशत बुकिङ हुने गरेको भए पनि बाढी तथा सडक अवरोधका कारण अधिकांश बुकिङ रद्द भएको पाण्डेले बताए।
उनका अनुसार यस महिनाका अधिकांश बुकिङ रद्द भएका छन्। भारतको गोरखपुरबाट सौराहा भ्रमणका लागि आउने तयारीमा रहेका करिब १०० पर्यटकले समेत आफ्नो कार्यक्रम स्थगित गरेका छन्।
“पर्यटकसँग संवाद गर्दा नेपालमा विपद् भइरहेका बेला आफूहरू त्यहाँ रमाउन नसक्ने बताउने गरेका छन्,” पाण्डेले भने, “नेपालका सीमित क्षेत्रमा मात्र बाढीपहिरोको प्रभाव रहेको र अन्य पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आवश्यक छ।”
गत वर्ष जेनजी आन्दोलनका कारण पर्यटन व्यवसाय प्रभावित भएकाले यस वर्षको पर्यटकीय सिजन राम्रो हुने अपेक्षा व्यवसायीले गरेका थिए। तर, पछिल्लो समय भोटेकोशी बाढी र विशेषगरी सडक अवरोधले पर्यटन व्यवसायमा पुनः असर पारेको उनीहरूको भनाइ छ।
सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवालले बाढीभन्दा पनि सडक अवरोधका कारण बढी बुकिङ रद्द भएको बताए। उनका अनुसार भारतीय पर्यटकको आवागमन प्रभावित हुँदा सौराहाका होटलमा प्रत्यक्ष असर परेको छ।
“भोटेकोशीमा बाढी आएपछि केही बुकिङ रद्द भएका थिए, तर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बाँकी अधिकांश बुकिङ पनि रद्द भए,” उनले भने।
मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा आउने भारतीय पर्यटकले यात्रा स्थगित गर्दा त्यसको असर सौराहामा परेको व्यवसायीको भनाइ छ।
होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले विभिन्न देशले नेपाललाई असुरक्षित गन्तव्यका रूपमा बुझ्दा विदेशी पर्यटकले बुकिङ रद्द गरिरहेको बताए। उनका अनुसार सेप्टेम्बरका अधिकांश बुकिङ रद्द भइसकेका छन् भने अक्टोबरका केही बुकिङ पनि रद्द हुने जोखिममा छन्।
“विपद्पछि पर्यटक आउने समय सुरु हुने भएकाले अहिले सौराहा सुनसानजस्तै छ। अवस्था सुधार भए अक्टोबरका केही बुकिङ जोगिने अपेक्षा छ,” घिमिरेले भने।
सौराहामा अहिले औसतमा करिब पाँच प्रतिशत मात्रै पर्यटक रहेको व्यवसायीको अनुमान छ। गत वर्ष यही समयमा २५ देखि ३० प्रतिशतसम्म पर्यटक हुने गरेका थिए। शनिबार तथा आइतबार आन्तरिक पर्यटकको समेत चहलपहल हुने गरे पनि यसपटक सडक अवरोध र विपद्को समाचारका कारण आन्तरिक पर्यटकको आगमनसमेत घटेको व्यवसायीले बताएका छन्।
घिमिरेले नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रवाह गर्नुपर्नेमा जोड दिए। सरकारले विदेशस्थित नेपाली राजदूतावासमार्फत सम्बन्धित देशका नागरिकलाई नेपालको वास्तविक अवस्थाबारे जानकारी गराउन सके पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
सौराहाको केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरीले रेष्टुरेन्ट र होटल दुवैमा पर्यटकको चहलपहल घटेको बताए। विगतमा यही समयमा रेष्टुरेन्टमा भीड हुने गरे पनि अहिले भएका बुकिङसमेत रद्द भएको उनले बताए। बुकिङको अवस्था हेर्दा नोभेम्बरसम्म पर्यटन व्यवसायमा नकारात्मक असर रहने देखिएको उनको भनाइ छ।
भोटेकोशी बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत प्रभावित भएपछि अन्तर्राष्ट्रियस्तरमा नेपाल असुरक्षित रहेको सन्देश गएको व्यवसायीको गुनासो छ। सीमित भूभागमा मात्र विपद्को प्रभाव रहेको र देशका अन्य पर्यटकीय क्षेत्र सुरक्षित रहेको तथ्य अन्तर्राष्ट्रिय जगत्मा प्रभावकारी रूपमा पुर्याउन नसक्दा पर्यटन व्यवसाय प्रभावित भएको उनीहरूको भनाइ छ।
सौराहामा १२० भन्दा बढी होटल छन्। ती होटलमा एकैपटक पाँच हजारभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता रहेको व्यवसायी बताउँछन्। काठमाडौँबाट सौराहाका लागि दैनिक सञ्चालन हुने पर्यटक बससमेत पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएपछि प्रभावित भएका छन्। हवाई यात्रा तुलनात्मक रूपमा महँगो हुनु र उडानमा चाप बढ्नुले पनि पर्यटक आगमन सहज हुन सकेको छैन।
मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्जमा सफारी गर्न आउने पर्यटक सौराहामा बस्ने गर्छन्। यसबाहेक देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा तथा सम्मेलनका लागि पनि सौराहा रोजिँदै आएको छ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको सौराहा सफारी पर्यटनका लागि भने देशकै प्रमुख गन्तव्य मानिन्छ।













