काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। सोमबार नुवाकोट पुगेका राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका हुन्।
भेटका क्रममा बाढीपीडितले उद्धार तथा राहतसँगै पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्नुपर्ने माग राष्ट्रपति पौडेलसमक्ष राखेका थिए। राष्ट्रपति पौडेलले पीडितका गुनासा तथा मागहरू सुन्दै विपद्पछि प्रभावित नागरिकको अवस्थाबारे चासो व्यक्त गरेका थिए।
राष्ट्रपतिले जिल्लामा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिबारे जिल्ला सुरक्षा समितिबाट विस्तृत जानकारीसमेत लिएका छन्। त्यस क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले बाढीले जिल्लामा पुर्याएको क्षतिको विवरण प्रस्तुत गरेका थिए।
प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धार, राहत वितरण, प्रभावितको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माणका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएपछि पीडितको आवश्यकता र पुनर्स्थापनाका लागि भइरहेका सरकारी प्रयासबारे समेत चासो राखेका थिए।













