अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका धेरै मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान सम्म दिएको अध्यावधिक विवरण अनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुख सडक खण्ड प्रभावित बनेका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ-७ स्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको परेवा भिरमा साना गाडी एक लेनमा र कमेरेभिरमा एकतर्फी मात्रै सञ्चालन भइरहेका छन्। यता काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरि-२ चिसापानीमा पनि पहिरोका कारण एकतर्फी मात्रै गाडी चलिरहेका छन्।
काभ्रेस्थित बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबँसी खण्डमा साँझ ७ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ भने १० टनसम्मका मालवाहक सवारीलाई दिउँसोको समयमा सञ्चालन गर्न दिइएको छ। रसुवाका सबै मुख्य राजमार्ग तथा उत्तरगयाको त्रिशुली मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड (सिमटार) अवरुद्ध छ भने टोखा-छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, कर्णाली प्रदेशको मुगु-गमगढी सडक खण्ड (छायाँनाथ रारा-४ ताल्चा) पहिरोका कारण बन्द छ। लुम्बिनी प्रदेशको रोल्पास्थित सहिदमार्ग तथा घोराही-थवाङ मार्ग र अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडक खण्ड पनि पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध बनेका छन्। प्रहरीले राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न अनुरोध गरेको छ।













