काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा आएको भिषण बाढीले प्रभावित क्षेत्रमा आफूहरुले सकेको सहयोग गर्ने प्रतिवद्धता दोहो-याउँदै दुःख व्यक्त गरेका छन्। रक्षामन्त्री सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरे ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले .अकल्पनीय प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीयलगायत अन्य विदेशी नागरिकलाई समेत प्रभावित बनाएको उल्लेख गरे । आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्स मार्फत उनले लेखेका छन्, ‘यस विपत्तिमा ज्यान गुमाउनेहरूको परिवारप्रति हाम्रो प्रार्थना र समवेदना छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’
नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत सधैं नेपालको ‘सुख दुःखको साथी’ रहेको बताएका छन्।
उनले सामाजिक संजालमा उल्लेख गर्दै छिमेकी देशहरु एक अर्काको सुख ,दुःख सधैँ हातेमालो गर्नुपर्ने बताएका छन् ।













