बाजुरा, ११ भदौः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला सुरु भएको छ । यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने परम्परा छ ।
बडीमालिकामा मुख्य मेला आज भए पनि दर्शनार्थीहरुको चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि पूजा प्रारम्भ गरिएको बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिनुभयो ।
जनैपूर्णिमाका अवसरमा बडीमालिकासँगै बूढीनन्दा, बडालेखसहित दर्जन बढी धार्मिक शक्तिपीठमा पूजा लाग्ने गरेको छ । साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका माताको पूजा गरेर सोही दिन तल झर्ने र जनैपूर्णिमाको दिन त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा पूजाआजा गर्ने परम्परा रहेको पुजारी पाध्यायले बताउनुभयो ।
चार हजार दुई उचाइमा अवस्थित बडीमालिकामा मेला भर्न हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी, कालीकोट र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली त्यहाँ जाने परम्पराबमोजिम सबै सरकारी टोली पुगिसकेको र हाल दर्शनार्थीहरुले पूजा गरिरहेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताउनुभयो ।
“विगतका वर्षभन्दा यसपटक दर्शनार्थीको सङ्ख्या बढ्ने अनुमान छ”, उहाँले भन्नुभयो, “गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ ।”
बडीमालिका माताको दर्शनका लागि ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेकाले भदौ १ बाटै पूजा प्रारम्भ भएको र सुरक्षा व्यवस्थापन मजबुत बनाएकाले त्यहाँ भिरालो भूगोलका कारण केही अप्ठ्यारो र लेक लाग्ने समस्याबाहेक अन्य कुनै समस्या नहुने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
बडीमालिकामा बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक तथा दर्शनार्थीहरु पुग्ने गरेका छन् । सञ्चार सेवा नहुँदा तीर्थयात्री तथा सुरक्षाकर्मीले मोबाइल सम्पर्क र इन्टरनेट प्रयोगमा समस्या भोग्दै आएका थिए । तर यस वर्ष मेलाअगावै सञ्चार सम्पर्क सहज बनाउन नेपाल टेलिकमको फोरजी टावरसमेत सञ्चालनमा ल्याइएको छ । फोरजी सेवा सञ्चालनमा आएपछि त्यहाँ पुग्ने भक्तजनलाई परिवारसँग सम्पर्क, सूचना आदानप्रदान र इन्टरनेट प्रयोग एवं उद्धार तथा सुरक्षा निकायसँग सम्पर्क गर्नसमेत सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
टेलिफोन तथा इन्टरनेट सेवा विस्तार
यसअघि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री वालेन्द्र शाहले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्वीट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको स्थानीयको भनाइ छ ।
समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भूत सङ्गम हो । यहाँको दर्शनले मनोकाङ्क्षा पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुनेलगायत धार्मिक विश्वास प्रचलित छन् ।
मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडिमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् । यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउनेक्रम बढ्दै गएको छ ।
–––













