काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताउँदै युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेर मन्त्रालय स्थापना गरिएको र यस क्षेत्रको बजेटसमेत क्रमशः बढ्न थालेको बताए।
उनले नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न सके युवा विदेशिने क्रम घटाउन सकिने उल्लेख गर्दै विज्ञान र प्रविधिलाई बेवास्ता गरिएकै कारण आफू राजनीतिमा आउनुपरेको अनुभव पनि सुनाए।
मन्त्री पुनका अनुसार मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब रु ४ अर्ब विनियोजन गर्ने लक्ष्य राखिएको छ। बजेट प्रस्तुत हुँदा मन्त्री नियुक्त नभएकाले रु ३ अर्ब ४० करोड रकम अवण्डामा राखिएको उनले जानकारी दिए।
उनले प्रदेश र स्थानीय तहलाई पनि आफ्नो पुँजीगत बजेटको एक प्रतिशत विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्न आग्रह गरिएको बताए।
मन्त्रालयले नेतृत्व पाएपछि आवश्यक कानुन, संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण र संस्थागत संरचना निर्माणका काम अघि बढाइएको उल्लेख गर्दै युवा वैज्ञानिकबाट अनुसन्धान प्रस्ताव आह्वान गरिने जानकारी दिए।
मन्त्री पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को बजेट वृद्धि गर्ने तयारी भइरहेको बताए।
नेपालमा हालसम्म केवल ९० वटा पेटेन्ट मात्र दर्ता भएको उल्लेख गर्दै उनले अनुसन्धान, आविष्कार र बौद्धिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिइने बताए।
“विकसित राष्ट्रहरू विज्ञान र प्रविधिमा लगानी गरेर समृद्ध बनेका हुन्,” मन्त्री पुनले भने, “नेपालको समृद्धिका लागि पनि यस क्षेत्रमा लगानी बढाउनै पर्छ। विदेशमा रहेका नेपाली प्रतिभा र वैज्ञानिकलाई खोजी–खोजी स्वदेशमा ल्याउने काममा सरकार लागिरहेको छ।”













