भोजपुर, २२ असारः सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ । हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पु¥याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो ।
गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरणमैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।
उहाँका अनुसार नेपालको राष्ट्रिय फूलसमेत रहेको लालीगुराँसको संरक्षण र विस्तारले जैविक विविधतासँगै स्थानीय सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउन सहयोग पुग्नेछ ।
आइतबार आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया तथा विभिन्न सरकारी निकाय र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले संयुक्त रूपमा लालीगुराँसका बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।
डिभिजन वन कार्यालय भोजपुरले उपलब्ध गराएका ५०० वटा लालीगुराँसका बिरुवामध्ये पहिलो चरणमा १०० वटा रोपिएको कार्यालय प्रमुख खुद्रुस मियाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ४०० वटा बिरुवा गाउँपालिकाको समन्वय र स्थानीय समुदायको सहभागितामा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले यस्ता अभियानले स्थानीय तह, वन कार्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उल्लेख गर्दै दिगो विकासका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो ।













