मोटामोटी रुपमा बच्चाबच्चीको स्वभावलाई दुई वर्गमा बाँड्न सकिन्छ – अन्तरमुखी र बहिर्मुखी । कसैकसैमा भने यी दुवै स्वभाव एकैसाथ देख्न सकिन्छ । पहिलो वर्गका बच्चाबच्ची कम बोल्छन्, बढी सुन्छन् । यिनीहरु आफूमा बढी र अरुमा कम रमाउँछन् । यिनीहरु एकान्तप्रिय हुन्छन् ।
यिनै स्वभावका कारण यिनीहरु अध्ययनशील, चिन्तनशील, सिर्जनशील, सरल दूरदर्शी बन्छन् तर यस वर्गभित्रकै नकारात्मक व्यक्तित्व पनि हुन्छन् । यिनीहरु डरछेरुवा, शंकालु, उदासिन एवं अल्छी हुन्छन् । यनी दुवै खाले स्वभाव अन्तरमुखी भए तापनि पहिलो स्वस्थ र अर्काे अस्वस्थ व्यक्तित्व भनी ठम्याउनुपर्दछ ।
बहिर्मुखी व्यक्तित्व, सबैसित घुलमिल हुन सक्ने, चलाख, नेतृत् वगर्न सक्ने, बोलेरै अरुलाई प्रभावित गर्न सक्ने, बाहिरको काममै बढी रमाउने खालका हुन्छन् । यिनीहरु भविष्यमा नेता, सामाजिक कार्यकर्ता हुनसक्छन् । यसका पनि नकारात्मक व्यक्तित्व हुन्छन् । उनीहरु बढी नै कुरौटे, अपराधिक मनोवृत्तिबाट सञ्चालित, पढाइमा फिटिक्कै मन नगर्ने र दुव्र्यसनी हुन्छन् ।
सकारात्मक बाल–बालिकालाई तपाईंको प्रेम भए पुग्छ भने नकारात्मक केटाकेटीलाई प्रेमले मात्र पुग्दैन । उनीहरुलाई थप समय नै दिनुपर्दछ अन्यथा उनीहरुको पतन अवश्य हुन्छ ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट













