काठमाडौँ । सिंहदरबार पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको भन्दा अहिले झन् जटिल र चुनौतीपूर्ण बनेको छ। भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनीले संरचनात्मक रूपमा गम्भीर क्षति पुर्याएपछि पुनर्निर्माण प्रक्रिया कठिन बनेको हो।
सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख ई. चक्रवर्ती कण्ठका अनुसार भूकम्पले भवनका केही भाग भत्किए पनि मूल संरचनामा ठूलो असर परेको थिएन। तर आगजनीले अधिकांश संरचना जलेर खरानी बनाउँदा पुनर्निर्माण प्राविधिक रूपमा जटिल र खर्चिलो भएको छ।
आगोका कारण सिंहदरबारको विशेषगरी पश्चिमी मोहडा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने भित्री भागमा संरचनात्मक आधार नै कमजोर बनेको बताइएको छ। इँटा, काठ, छाना र खम्बाजस्ता मुख्य संरचनात्मक तत्व जलेर नष्ट भएका छन्।
आगजनीले भवनभित्र रहेका पुरातात्त्विक तथा ऐतिहासिक महत्वका सामग्रीसमेत नष्ट गरेको छ। बेलायती बैठक कक्ष, पुराना पियानो, दुर्लभ कलाकृति, फोटोग्राफी, पेन्टिङ र बहुमूल्य गलैँचालगायतका सामग्री जलेर काम नलाग्ने अवस्थामा पुगेका छन्।
कठिनाइका बाबजुद सिंहदरबारको मूल स्वरूप नबिग्रिने गरी पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ। वि.सं. १९६० मा चन्द्रशमशेर जबरा को पालामा निर्मित यो भवन ‘नियो क्लासिकल’ शैलीमा बनेको नेपालको मुख्य प्रशासनिक केन्द्र हो।













