एसियाका प्रमुख बजारहरूमा पछिल्ला दिन सुनको माग कमजोर देखिएको छ । जसको प्रभाव नेपालमा पनि प्रत्यक्ष रूपमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा दरमा भएको चर्को उतार–चढावका कारण उपभोक्ताहरू प्रतीक्षामा बस्न थालेका छन् । जसले दक्षिण एसियाली बजारमा सुन किनमेल नै सुस्त बनाएको छ।
भारतमा, जहाँ विवाहको मुख्य सिजन सुरु भइसकेको छ, सुन खरिद अपेक्षाकृत कमजोर देखिएको छ। गत हप्तामा ५ महिनामै सबैभन्दा उच्च गरिएको छुट यस हप्तामा घटेर प्रतिऔंस २१ डलरमा झरे पनि मूल्यमा आएको अस्थिरताले खरिद गर्नेमाथि भरोसा जगाउन सकेको छैन। भारतीय बजारमा सुनको मूल्य १० ग्रामको करिब १२२,५०० रुपैयाँमा कारोबार भई रहेको छ । जुन गत हप्ताको तुलनामा ४.३ प्रतिशतले कम हो।
यस्तै, चीनमा पनि सुन विश्व बजार मूल्यभन्दा बराबर वा ५ डलरसम्म छुटमा कारोबार भइरहेको छ। विश्लेषकहरूले उपभोक्ताहरू सुनलाई दीर्घकालीन लगानीको रूपमा हेरे पनि अहिलेको उच्च मूल्यमा खरिद गर्न हिच्किचाइरहेको बताइएकाे छ। स्वीस सुन निर्यात पनि उच्च मूल्यका कारण घट्दै गएको तथ्यांकले देखाएको छ।
सिंगापुर, हङकङ र जापानमा पनि सुन सीमित प्रिमियममा कारोबार भइरहेका छन्, जसले माग कमजोर रहेको संकेत गर्छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको सुस्तता र मूल्य घटबढले नेपाली बजारलाई पनि प्रभाव पार्ने व्यवसायीहरूको भनाइ छ। पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार घटबढ भइरहेको छ, र उपभोक्ताहरू अझै मूल्य तल जान सक्ने अपेक्षामा किनमेल रोकिरहेका छन्।
विवाहको सिजन सुरु भएको भए पनि उछाल नआएको सुन व्यवसायीहरूको बुझाइ छ। उनीहरूका अनुसार मूल्य स्थिर नभएसम्म बजारमा सामान्य गतिशीलता आउने सम्भावना न्यून छ।
व्यवसायीहरू भन्छन्, ‘अहिलेको अस्थिरताले उपभोक्ता टाढा बसेका छन्। मूल्य स्थिर भएपछि मात्र माग निकै बढ्ने देखिन्छ।’
सुन विश्वबजारसँग प्रत्यक्ष रूपमा चल्ने भएकाले मूल्यमा आएको कुनै पनि उतारचढावको असर नेपालमा तुरुन्तै देखिन्छ। मूल्य स्थिर हुने संकेत नआएसम्म नेपाली बजार पनि प्रतीक्षामै रहने अनुमान गरिएको छ।













