नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इन्डोनेसियाको काष्ट्रेन्ज पिरामिड हिमशिखरको सफल आरोहण गरेका छन् ।
पाण्डेले स्थानीय समयअनुसार १७ अगस्टको बिहान ९ः३० बजे ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने हिमालमा उनले चन्द्र–सूर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए ।
सेभेन समिट अभियानअन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरुको आरोहण गर्ने महात्वाकांक्षी लक्ष्य पछ्याइरहेका पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई ११ अगस्टमा इन्डोनेसियातर्फ लागेका थिए । सेभन समिटको यस विशेष अभियानमा उनको यो पाँचौँ हिमाल आरोहण हो भने समग्रमा दर्जन बढी हिमाल उनले चढिसकेका छन् ।
सन् २०२२देखि उनी यस अभियानमा लागिरहेका छन् । २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका पाण्डेले यसअघि रुसमा रहेको युरोपको उच्च हिमाल माउण्ट एलबुस्र उक्लिन सफल भए भने २०२४ को नोभेम्बरमा तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरे । तत्पश्चात यसै वर्ष फेब्रुअरीमा दक्षिण अमेरिकी महादेशको उच्च हिमशिखर अकोन्कागुआको सफल आरोहण पनि पाण्डेले गरिसकेका छन् ।
भूमध्यरेखीय क्षेत्रको उच्च तापक्रम रहने क्षेत्रमा पिरामिड शैलीमा अग्लिएको यो हिमालले निकै चुनौती पेस गरेको आरोही पाण्डेले बताए । नेदरल्याण्डका समुद्री खोजकर्ता जोन काष्ट्रेन्जले इक्वटेरमा लगभग ५ हजार मिटरको उचाइ भएको हिमाल पत्ता लागेको कुरा युरोपेली सञ्चार माध्यममा आउँदा भूमध्य रेखा आसपासमा त्यति उचाइको पहाड रहेकोमा विश्वास गरिएको थिएन । त्यही हिमालले अहिले विश्वका पर्वतारोहीहरुलाई हाँक दिँदै निमन्त्रणा दिइरहेको छ ।
‘यस हिमालको बनोटका कारणले डोरीको भरमा आरोहण गर्नुपर्ने हुन्छ । रक क्लाइम्बिङ शैलीमा चढ्नुपरेका कारणले यो आरोहण अझ कठिन लाग्यो’, हिमाल नजिकको शहर तिमिकाबाट पाण्डेले सुनाए, ‘त्यसले आरोहीहरूलाई चुनौती दिनकुा साथै आरोहीहरूको सन्तुलन क्षमता र टेक्निकल सुझबुझको समेत जाँच लिइरहेको हुन्छ ।’
आरोही पाण्डेले नेपाल स्काउट र रोटरी इन्टरनेशनललगायतका सामाजिक संस्थाहरूको झण्डा पनि ती संस्थाहरूको सदस्यको रुपमा आफूले फहराउन पाउँदा निकै खुसी लागेको बताए । नेपाली आरोही पाण्डेसँगै दुई अमेरिकी, एक जना पोल्याण्डका आरोही र दुई स्थानीय आरोहीसहित छ जनाको टोली चुचरोमा पुगेको थियो ।













