तनहुँ : वनमा पानीको स्रोत मासिएर वन्यजन्तु मानव वस्तीमा आउन थालेपछि डिभिजन वन कार्यालयले पोखरी निर्माण गरेको छ। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो।
वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका-३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका- २ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका- २ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका- ४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो।
पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन एक लाख रुपैयाँ प्रदान गरेको उनले जानकारी दिए। एक लाख रुपैयाँ लागतमा भानु नगरपालिका-९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ।













